प्रकाश माविकोे ६९ औं वार्षिकोत्सवः उत्कृष्ट शिक्षक, अभिभावक तथा बिद्यार्थी पुरस्कृत

म्याग्दी सदरमुकाम बेनि बजारमा अवस्थित प्रकाश माविको ६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । बार्षिक उत्सवको अवसरमा बिद्यालयले विविध कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य भुपेन्द्र थापाले सरकारी विद्यालयमा राज्यको ठुलो लगानी भए पनि लगानी अनुसारको प्रतिफल अझै प्राप्त नभएकाले सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले विज्ञान शिक्षाको आधार दिने प्रकाश मावि महान भएको भन्दै बिद्यालयको सवै खाले योजना र कार्यक्रममा आफ्नो साथ र सहयोग रहने बताउनुभयो ।

त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र केसिले अभिभावकहरुले बालबालिकाहरुलाई विद्यालयमा पढाएर मात्र दक्ष नहुने भन्दै विद्यार्थीको सम्पूर्ण पक्षको विकासका लागि घर परिवारहरुले उचित वातावरणको व्यवस्थापन गर्नु पर्ने बताउनुभयो। प्रकाश मावि यस क्षेत्रकै शैक्षिक धरोहर हो भन्ने कुरा यसको इतिहाँस देखि वर्तमान सम्मका परिणामले बताउँछ, उहाँले भन्नुभयो ।

बिद्यालय ब्यवस्थापन समितिका पुर्ब अध्यक्ष तथा बेनि नगर प्रमुख हरिकुमार श्रेष्ठले दक्ष जनशक्ति उत्पादन गर्न समयानुकूल शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । प्रकाश माबिमा आफुले अध्ययन गर्दै गर्दाको समयलाई सम्झदै बिद्यालयवाट हाल सम्म उत्पादन भएका बिद्यार्थीहरुले विभिन्न क्षेत्रहरुमा सफलता प्राप्त गरेकोमा खुशी व्यक्त गर्नुभयो।

कार्यक्रमका अध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका सदस्य हरिकृष्ण श्रेष्ठले दक्ष जनशक्ति उत्पादानका लागि विद्यालय स्थपानकाल देखि लागि परेको बताउनुभयो । ‘विद्यालयका कमजोरीहरु भए अभिभावकहरुले भन्न सक्नुहुन्छ’ उहाले भन्नुभयो ‘हामी तपाईहरुले देखाएकै बाटोमा हिड्न तयार छौं ।’

बार्षिक उत्सवकै अवसरमा प्रकाश मावि मन्टेसरीको औपचारिक उद्घाटन गरिएको छ । त्यस्तै बिद्यालयको साहित्यिक पत्रिका प्रकाशपुञ्ज वर्ष १६, अंक १ को लोकार्पण पनि गरिएको छ। त्यस्तै उत्कृष्ट बिद्यार्थीको रुपमा ज्ञानेन्द्र मल्ललाई  सम्मान गरिएको छ। साथै कर्मचारी र शिक्षकलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा कर्मचारी शान्ति रामदाम, शिक्षकहरु यम बहादुर जिसी, शिव प्रसाद शर्मा, सन्तोष सुवेदी, श्यामबाबु सिंह, विनय श्रेष्ठ र गोरखनाथ सुवेदी हुनुहुन्छ । उत्कृष्ट अभिभावकको रुपमा बेनी नगरपालिका ५ निबासी कोपीला परियार सम्मानित हुनुभएको छ । यसैगरि बिद्यार्थी सुस्मिता केसी (जेहेन्दार), लिप्टन नेपाली (दलित), मिलन थापा ( जनजाती) लाई साहिँला मुखिया बिच्छाराम छात्रवृत्ति बाट पुरस्कृत गरिएको बिद्यालयका शिक्षक गोरखनाथ सुवेदीले जानकारी दिनुभयो ।

समारोहमा नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य बिमला गौचन , बेनपा ७ वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ , म्याग्दी बहुमुखी क्याम्पस प्रमुख गोरख बहादुर जिसि , नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, म्याग्दी उद्योग बाणिज्य संघका उपाध्यक्ष लिलाराम गौतम, बिद्यालय ब्यबस्थापन समितिका पूर्व अध्यक्ष मन बहादुर चर्मकार, बेनी नगरपालिकाका श्रोत ब्यक्ति जयराम सुवेदी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । समारोहमा पछिल्लो समयका लोकप्रीय लोक तथा दोहोरी गायक, बिद्यालयका पूर्व बिद्यार्थी प्रकाश दुतराजलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रधानाध्यापक हरिकृष्ण सुबेदिले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्दैं विद्यालयका शैक्षिक तथा भौतिक गतिविधिहरुका सम्बन्धमा प्रकाश पार्दै आगामी दिनका योजनाहरु समेत प्रस्तुत गर्नुभएको थियो ।

विभिन्न साँस्कृतिक प्रस्तुति एवम् बिद्यार्थीको तर्फबाट शैक्षिक एवं सृजनात्मक प्रर्दशनी समेत गरिएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य हरिकृष्ण श्रेष्ठको अध्यक्षता, शिक्षक कविराम थापाको स्वागत तथा विद्यालयका सहायक प्रधानाध्यापक लेख बहादुर हमालको सञ्चालनमा समपन्न भएको थियो।

You can share this post!

विना स्वास्थ्य चेकजाँच, चालकहरू गुडाउँछन् गाडी

पब्लिक भिजन सहकारीको अध्यक्षमा लक्ष्मण शर्मा चयन

Related posts