संसद चल्न दिन्नौं, प्रधानन्यायाधीश हटाउने पक्षपोषण गर्ने खेलमा पनि लाग्दैनौं – ज्ञवाली

काठमाडौं, मंसिर २३ । नेकपा एमालेले एउटालाई हटाएर अर्को व्यक्तिलाई ल्याउँदैमा न्यायालयमा सुधार नआउने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हटाउने वा पक्षपोषण गर्ने पक्षमा नरहेको प्रष्ट पारेको छ । प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश हटाउने या नयाँ बनाउने खेलमा एमाले नरहेको बताउनु भयो ।

ज्ञवालीले न्यायालयमा नेतृत्व परिवर्तनले मात्र समस्याको समाधान नहुने बताउँदै न्यायपालिकामा आमूल परिर्वतन जरुरी रहेको बताउनु भयो ।
सर्वोच्च अदालतबाट एमाले सबैभन्दा पीडित भएको भन्दै ज्ञवालीले प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायाधीश र कानुन व्यवसायीले गरेको आन्दोलनका एजेन्डाबाट न्यायालयको सुधार नहुने बताउनु भयो । उहाँले एमाले न्यायिक नेतृत्व हटाउने या राख्ने खेलमा सहभागी नहुने भन्दै स्वतन्त्र र सक्षम न्यायपालिकाको एजेन्डा उठाउनेलाई मात्र समर्थन रहने जानकारी दिनुभयो ।

आगामी २८ मंसिरबाट सुरु हुने संसद् अधिवेशनमा एमालेको अवरोध कायम राख्ने उहाँको भनाइ छ । संसदमा आफहरूले उठाएका एजेन्डाको सम्बोधन नभएसम्म संसद् चल्नै नसक्ने ज्ञवालीको भनाइ छ । पार्टीले कारबाही गरेका सांसद संसद भवनमा रहेसम्म संसद् नचल्ने ज्ञवालील्े प्रष्ट पार्नुभयो । उहाँले १०औं महाधिवेशनबाट एमालेभित्र गुट र उपगुट सकिएको भन्दै अबको तीन महिनाभित्र एमालेले सरकारका नराम्रा कामको भण्डाफोर र पार्टी सदस्यता विस्तारमा केन्द्रित हुने जानकारी पनि दिनुभयो ।

You can share this post!

नेकपा एमाले अध्यक्ष ओली अस्वस्थ

झिँ गाउँबाट देखिएको धौलागिरी हिमाल

Related posts