जनकल्याण मावि पुलाचौरमा विविध कार्यक्रमः विभिन्न विधामा सम्मान तथा स्मृति ग्रन्थ लोकार्पण (तस्विरसहित)

२२ मंसिर २०७८, बुधबार प्रताप बानियाँ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा बुधबार विविध कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा अभिभावक भेला तथा स्मृति ग्रन्थ लोकार्पण एवं पुरस्कार वितरणका साथै सम्मान कार्यक्रम गरिएको हो ।

विद्यालयमा स्थापना गरिएको धनेश्वरी–तारानाथ स्मृति कोषद्वारा विभिन्न विधातर्फ सम्मान गरिएको कोषले जनाएको छ । सोही अवसरमा धनेश्वरी–तारानाथ स्मृति कोष, म्याग्दीमार्फत प्रकाशित ‘पण्डित तारानाथ रेग्मी स्मृति ग्रन्थ’ लोकार्पण गरिएको छ । स्मृति कोषले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७७ मा सर्वोत्कृष्ट अङ्क ल्याउने जनकल्याण माविका विद्यार्थी प्रकृति बानियाँलाई नगद २० हजार र उत्कृष्ट विद्यार्थीहरु समिता सुवेदी, रितु किसान र प्रदीप श्रेष्ठलाई १५ हजार रुपैयाँका दरले सम्मानपत्रसहित पुरस्कृत गरेको छ ।

यसैगरी सांस्कृतिकतर्फ उत्कृष्ट हुने समूहका अन्जना छिनाल, अंकिता थापा, रेजिना रामदाम, सुवास विक र प्रबिना पाईजालाई क्रमशः नगद दुईहजार रुपैयाँ र जडभरत शालग्राम संस्कृत विद्यालय गलेश्वरधाम, म्याग्दीको कक्षा ९ मा अध्ययनरत विद्यालय प्रथम शंकर पौडेललाई नगद १५ हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको थियो । त्यस्तै शिक्षा र साहित्यतर्फ म्याग्दी साहित्यिक समाजका अध्यक्ष ध्रुवलाल शर्मा र सचिव रामप्रसाद सुवेदी तथा पत्रकारितातर्फ क्रियाशील पत्रकार एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सचिव सन्तोष गौतमलाई क्रमशः नगद १० हजार रुपैयाँ, सम्मानपत्र र ढाकाको टोपीले सम्मान गरिएको छ ।

कार्यक्रमको अवसरमा पूर्व सांसद तथा साहित्यकार एवं मदन पुरस्कार–२०७६ को विजेता महारानी उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँलाई अभिनन्दनपत्र, दोसल्ला र ढाका टोपीले सम्मान गरिएको थियो । स्मृति ग्रन्थको लोकार्पण गर्दै साहित्यकार बानियाँले पुलस्त्य ऋषिको तपोभूमि पुला क्षेत्रमा विशिष्ट व्यक्तिहरुको जन्म भएको बताउनुभयो । उहाँले शैक्षिक संस्थामा ठूलो राशीको अक्षयकोष स्थापना गर्नु र स्मृति ग्रन्थ प्रकाशन गर्नु अत्यन्तै सराह्रनीय काम भएको बताउँदै पण्डित तारानाथ रेग्मीले समाजमा पुर्याएको योगदानको चर्चा गर्नुभयो ।

बेनी नगरपालिकाका शिक्षा अधिकृत अर्जुन पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि शिक्षक, अभिभावक र विद्यार्थी मिलेर अगाडि बढ्नुपर्ने बताउँदै शिक्षाको उजागर गर्नका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । अभिभावक भेलामा विद्यालयका लेखापाल चिरञ्जीवी सुवेदीले सामाजिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयको प्रथ्म त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामग्रीले पुरस्कृत गरिएको थियो ।
उक्त कार्यक्रममा धनेश्वरी–तारानाथ स्मृति कोषले एकलाख ५५ हजार रुपैयाँ जनकल्याण मावि अक्षयकोषलाई दिएको छ । कार्यक्रममा कोषका कोषाध्यक्ष मित्रलाल रेग्मी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष भीम रेग्मी, म्याग्दीका साहित्यकारहरु ध्रुवलाल शर्मा, अजयमिलन श्रेष्ठ, रामप्रसाद सुवेदी, सर्वोत्कृष्ट विद्यार्थी प्रकृति बानियाँ र शंकर पौडेलले मन्तव्य राखेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बानियाँको अध्यक्षता, प्रधानाध्यापक कमलप्रसाद पौडेलको स्वागत, धनेश्वरी–तारानाथ स्मृति कोषका सदस्य रेखाकौशल रेग्मी, शिक्षकद्वय रेशम बानियाँ र शान्ति शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

You can share this post!

पत्रकार गौतम सहित दुई जना साहित्यकार र दश जना बिद्यार्थी पुरस्कृत

अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली

Related posts