पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको तेस्रो वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारण सभाको गण्डकी प्रदेश सरकारका माननीय मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै मूख्य मन्त्री पोखरेलले लोक गीतले जनताको भावना समेट्ने हुँदा सवैमाझ लोकप्रीय भएको बताउनुभयो । यहाँका मौलिक लोकभाका, संस्कृति र परम्पराहरु अमूल्य सम्पति भएकोले पर्यटन पर्बद्धनमा पनि लोक संस्कृतिको महत्व रहेको बताउनुभयो ।
नेपाली लोक संस्कृतिको बिषयमा विदेशीहरु समेत आएर खोज तथा अनुसन्धान गरिरहेकाले यसलाई लोप हुन नदिन तथा संरक्षण गर्न प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहने भन्दै त्यसमा गण्डकी प्रदेश सरकारको तर्फबाट सधै सहयोग हुने बताउनुभयो । गण्डकी प्रदेश लोक संस्कृतिमा धनि भएकोले पनि यहाँको कला र संस्कृतिलाई थप उजागर, र सम्र्वद्धन गर्नका लागि गण्डकी प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय अन्तर्गत स्थापना भएको गण्डकी प्रज्ञा प्रतिष्ठानमा आवश्यक बजेट रहेको र बिभिन्न कार्ययोजना पनि बनाएर अगाडि बढेको बढाउनुभयो ।
कार्यक्रममा प्रतिष्ठान केन्द्रका सचिव एवं गण्डकी प्रदेश संयोजक जिबन दाहालले संस्थाले के दिन्छ होइन, संस्थालाई के दिन सकिन्छ भन्ने भावना राखेर संस्थामा काम गर्नुपर्ने बताउनुभयो । अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशले उत्कृष्ट कार्य गरेको भन्दै उहाँले प्रशंसा पनि गर्नुभयो । त्यस्तै नेपाली मौलिक लोक संस्कृति ख्याली गीतमा पि.एच.डी गर्नु भएका डा. तुलसी प्रभासले लोक संस्कृति राष्ट्रको अमूल्य नीधि भएकाले यसको संरक्षणमा राज्यले नै चासो दिनुपर्ने बिचार ब्यक्त गर्नुभयो ।
कार्यक्रममा स्व. नर बहादुर परियार स्मृति कलाकारिता पुरुस्कारबाट बहुचर्चित लोक तथा दोहोरी गायक बिष्णु खत्री र तिर्थ सागर सुवेदी स्मृति पत्रकारिता पुरस्कारबाट लम्जुङका पत्रकार किसान संगीतलाई नगद, दोसल्ला र सम्मान पत्र द्वारा सम्मान गरिएको वरिष्ठ उपाध्यक्ष पुर्ण परियारले जानकारी दिनुभयो ।
त्यस्तै उत्कृष्ट जिल्लाको रुपमा प्रतिष्ठान कास्की जिल्ला समितिलाई सम्मान गरिएको छ । त्यसपछि बार्षिक कार्य प्रगतिका आधारमा क्रमश स्याङजा, तनहुँ र बाग्लुङ जिल्लालाई पुरस्कृत गरिएको परियारले बताउनुभयो । त्यस्तै संस्थाबाट उत्कृष्ट बर्ष महिलाको रुपमा सहसचिव ज्योति लोहनी र उत्कृष्ट बर्ष पुरुषको रुपमा संस्थाका स्वास्थ्य सेवा बिभाग प्रमुख बिमल जिसी सम्मानित हुनुभएको छ ।
साधारणसभाले सचिव राजन कार्कीले प्रस्तुत गर्नुभएको प्रगति र कोषाध्यक्ष इन्द्रा गुरुङले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन पारित गरेको छ । संस्थाले आव २०७७÷०७८ मा २७ लाख १५ हजार ९ सय ७८ रुपैयाँ कुल आम्दानी गरेको र २४ लाख ९० हजार ४७ रुपैयाँ कुल खर्च गरेको कोषाध्यक्ष गुरुङ द्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रम प्रतिष्ठान गण्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष परियारको स्वागत र सचिव राजन कार्कीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्ला समितिबाट प्रतिनिधिहरु सहभागी भएका थिए ।