घरेलु उद्योग महासंघ म्याग्दी शाखा प्रदेशमा उत्कृष्ट

प्रताप बानियाँ, म्याग्दी ।नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा म्याग्दी गण्डकी प्रदेशमा उत्कृष्ट शाखा घोषित भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघअन्तर्गत जिल्ला शाखाको रुपमा रहेको म्याग्दी शाखा गण्डकी प्रदेशका जिल्लाहरुमध्ये उत्कृष्ट शाखा घोषित भई सम्मानित भएको हो ।

प्रदेशका ११ वटा जिल्लाहरुमध्ये घरेलु उद्योग महासंघ म्याग्दी शाखाले उदाहरणीय कार्यहरु सञ्चालन गरी संस्थाको गरिमालाई उच्च बनाउन सफल भएकोमा नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशको पाँचौं साधारण सभा तथा दोस्रो अधिवेशनको अवसरमा मङ्गलबार सम्मान गरिएको आयोजकले जनाएको छ । जिल्लामा उत्कृष्ट कार्य गरेकोमा घरेलु उद्योग महासंघको म्याग्दी शाखालाई सम्मान गरिएको जनाइएको छ ।

साधारणसभा तथा अधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय अध्यक्ष श्याम गिरीले उत्कृष्ट शाखा घोषित भएकोमा म्याग्दी शाखाका निवर्तमान अध्यक्ष लिलाराम गौतमलाई सम्मानपत्र प्रदान तथा दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । सम्मान ग्रहणपछि म्याग्दी शाखाका निवर्तमान अध्यक्ष गौतमले सम्मानले एकदमै खुसी लागेको बताउँदै आगामी दिनमा जिल्ला र स्थानीय तहमा पुगेर साना तथा घरेलु उद्योगको प्रवद्र्धनमा आवश्यक सहजीकरण गरिने बताउनुुभयो ।


यसैबीच अधिवेशनले नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशका लागि कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । अधिवेशनबाट प्रदेशको उपाध्यक्षमा म्याग्दी शाखाको तर्फदेखि महासंघका निवर्तमान अध्यक्ष लिलाराम गौतम उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । यसअघि म्याग्दी शाखाले जिल्लाको सबै स्थानीय तहमा महासंघको पालिकास्तरीय शाखा गठन तथा होमस्टेको तालिम सञ्चालन गरेको थियो ।

You can share this post!

विद्यार्थीलाई सहकारीद्वारा न्यानो कपडा वितरण

बहराइनबाट मृगौला पीडित पेशबहादुरको उपचारमा सहयोग

Related posts