प्रदेश अध्यक्षका लागि ‘रिजर्ब’ राखिएका तीन नेता

काठमाडौं– चितवनमा जारी एमालेको १०औँ राष्ट्रिय अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति सार्वजनिक गरेको ३०१ जना केन्द्रीय सदस्यको सूचीमा सम्भावित केही नेताहरुलाई रोकियो ।

अध्यक्ष ओलीले सार्वजनिक गरेको टिममा प्रदेश १ देखि प्रदेश ७ सम्मका लागि केही नेताहरुलाई राखिएको छ । केन्द्रीय सदस्यमा उहाँहरु नअटाएको भन्दै आलोचना भए पनि अध्यक्ष ओलीले जानीबुझी रिजर्ब राखेको निकटस्थ स्रोतको भनाइ छ ।

अध्यक्ष ओलीको विश्वासपात्र खोटाङका प्रतिनिधि सभा सांसद विशाल भट्टराई एमालेको मुख्य सचेतकको भूमिकामा हुनुहुन्छ ।

चितवनमा जारी एमालेको १०औँ राष्ट्रिय अधिवेशनमा अध्यक्ष ओलीले आइतबार राति सार्वजनिक गरेको ३०१ जना केन्द्रीय सदस्यको सूचीमा भने भट्टराईको नाम अटाएन । प्रमुख सचेतककै नाम केन्द्रीय सदस्यको सूचीमा नसमेटिँदा अनेक अडकालबाझी भइरहेका छन् । सामाजिक सञ्जालमा समेत अनेकथरी टिकाटिप्पणी भइरहेका छन् ।

तर, भट्टराईले नेतृत्वसँगको सल्लाहमा अर्को महत्वपूर्ण जिम्मेवारी पाउनेगरी केन्द्रीय कमिटीमा नाम नराखिएको प्रष्ट्याउनुभएको थियो ।

अध्यक्ष ओलीले भट्टराईलाई प्रदेश नम्बर १ को अध्यक्ष दिने आश्वासन दिनुभएको छ । ‘खासमा पार्टी अध्यक्ष, महासचिव र उच्च नेतृत्वले मेरो परामर्शमै मलाई केन्द्रीय कमिटीमा नराखेर निकट भविष्यमा अर्को महत्वपूर्ण जिम्मेवारी दिने भन्नुभएको छ । म यसै पनि संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरिरहेकै छु, अब थप सशक्त भूमिकासहित पार्टी संगठन निर्माण र परिचालनको काममा सरिक बन्नेछु,’ भट्टराईले भन्नुभएको छ, ‘यहि कारणले मात्र मेरो भूमिका खुम्चिदैन, म कमजोर बन्दिन । नेपाली राजनीतिमा मेरो सानो–ठूलो भूमिका अनवरत रहिरहनेछ । कोही खुसी नहुन, कोही चिन्तित नहुन बिनम्रतापूर्वक आग्रह गर्दछु ।’

बागमती प्रदेशबाट चितवनका सांसद कृष्णभक्त पोखरेल पनि केन्द्रीय सदस्यमा पर्नुभएन । उहाँलाई पनि बागमती प्रदेश अध्यक्षका लागि राखिएको छ ।

पोखरेलले आफू फरक भूमिकामा आउने भन्दै अहिले केन्द्रीय सदस्यमा नपरेकोमा कुनै चिन्ता नभएको बताउनुभयो ।

स्रोतका अनुसार गण्डकी प्रदेशबाट हिराबहादुर केसीलाई पनि केन्द्रीय सदस्य बनाइएन । केन्द्रीय कमिटीमा युवाहरुको उपस्थिति बढाउनुपर्ने दबाबमुलक अभियान छेड्नुभएका केसीलाई पनि गण्डकी प्रदेशको अध्यक्ष बनाउनेबारे छलफल भएको छ । केसीले पनि नयाँ भूमिकाबारे संकेत गर्दै भन्नुभयो, ‘हामी रिजर्ब फोर्स हौं, पार्टीले अर्को उपयुक्त स्थानमा जिम्मेवारी दिन्छ ।’

You can share this post!

मृतकका आफन्त र घाईतेको उपचारमा रघुगंगा गाउँपालिकाले राहत दिने, शोकमा एक दिन सेवा बन्द

अन्नपूर्णमा आवधिक विकास योजना तर्जुमाको मस्यौदा प्रतिवेदन प्रस्तुत

Related posts