देउसीभैलोबाट सङ्कलित रकमले पुस्तकालय स्थापना

स्याङ्जा,  तिहारमा देउसीभैलोबाट सङ्कलन गरेको रकमले फेदिखोलामा स्थापनार्थ पुस्तकालयमा पुस्तकहरु हस्तान्तरण गरिएको छ । पछिल्लो समय देउसीभैलोबाट उठेको रकम पिकनिक र भ्रमणमै खर्च गर्ने प्रवृत्तिको विकास भइरहेका बेला यहाँका विद्यार्थीले भने आफ्नै विद्यालयमा पुस्तकहरु उपलब्ध गराएका हुन् ।

फेदिखोला गाउँपालिका २ मा रहेको सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले देउसीभैलोबाट सङ्कलित रकमले क्याम्पसको पुस्तकालयमा आवश्यक पुस्तकहरु किनेर हस्तान्तरण गरेको विद्यार्थी सुजन पोख्रेलले बताउनुभयो ।

७० हजार रुपियाँको व्यवस्थापन र शिक्षा संकायका पुस्तकहरु किनेर क्याम्पसलाई हस्तान्तरण गरेको स्नातक चौँथो वर्षमा अध्ययनरत विद्यार्थी पोख्रेलले बताउनुभयो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रकाश गौतम, क्याम्पस प्रमुख हुमनाथ शर्मा पौडेलसहित प्रध्यापकहरुलाई क्याम्पसका व्यवस्थापन र शैक्षिक संकायका विद्यार्थी सम्मिलित विद्यार्थी समूहले हस्तान्तरण गरेको हो ।

गाउँपालिकाको एकमात्र बहुमुखी क्याम्पसमा डेढसय विद्यार्थी अध्ययनरत रहेको पोखरेलले बताउनुभयो । आफ्नै क्याम्पसमा अध्यनरत बिद्यार्थीले देउसी भैलोबाट सङ्कलन गरेको रकमले पुस्तक किनेर हस्तान्तरण गरेर ठूलो गुन लगाएको बताउँदै क्याम्पस प्रमुख शर्माले पुस्तकले यहाँका विद्यार्थीलाई पठन पाठनका लागि सहयोग पुग्ने बताउनुभयो ।

देउसी भैलोबाट सङ्कलित एक लाख १५ हजार रकममध्ये ७० हजारको पुस्तक क्याम्पसलाई हस्तान्तरण गरेको बताइएको छ भने अमोर सेवा समाजमा आश्रित विद्यार्थीका लागि १० हजारको शैक्षिक सामग्री दिइएको छ ।

You can share this post!

लोकमार्गका हाकिमले बागलुङका सिडियोलाई उल्लू बनाए

कांग्रेस म्याग्दीको  प्रारम्भिक मतपरिणाम सार्वजनिक

Related posts