स्थानीय तह तथा सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम

म्याग्दी । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा आइतबारदेखि सदरमुकाम बेनीमा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । म्याग्दी जिल्ला भित्रका स्थानीय तहहरु तथा जिल्लास्तरका सरोकारवालाहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

सामाजिक विकास कार्यालय म्याग्दीद्वारा चालु वर्षमा सञ्चालित विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ । स्थानीय तह, जिल्लास्थित कार्यालयहरुबीच सामञ्जस्यता कायम गर्ने र सामाजिक विकास कार्यालयको योजना तथा नीतिमा मूल प्रवाहीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख रमेश थापाले बताउनुभयो ।

कार्यक्रममा कार्यालय प्रमुख थापाले सामाजिक विकास कार्यालयको स्थापना र भूमिका, बजेट तथा कार्यक्रम, जिल्लामा सामाजिक विकास कार्यालय स्थापनापछि १ महिनाको अवधिमा भएको कार्यसम्पादन लगायतका विषयहरुमा सहजीकरण गर्नुभएको थियो । यसैगरी सोही कार्यक्रममा सहजीकरण गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले नेपालमा विश्वमै नभएका नीति नियमहरु बनेको भए पनि तिनको प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको भन्दै पछिल्लो समय सामाजिक उत्तरदायित्वलाई बढी महत्वका साथ हेरिएको बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा म्याग्दीका जिल्ला न्यायाधीश तेजनारायण पौडेलले कानुनहरु आफै नबन्ने बताउँदै समाजको आवश्यकता, अन्तर्राष्ट्रिय मूल्यमान्यता र संविधानले उल्लेख गर्ने हुँदा कानुन र नीति बन्ने बताउनुभयो । उहाँले देशविना कुनै पनि कानुनहरुको निर्माण गर्न नपाइने बताउँदै संविधानले निर्देशित गरेको र राज्यले ऐन बनाएको हुँदा सोहीअनुसार कार्य गर्दा त्यो वैधानिक हुने बताउनुभयो । अधिकार प्रचलन गराउन जिल्ला अदालतमा निवेदन दिन सकिने न्यायाधीश पौडेलको भनाइ छ ।

कार्यक्रममा सामाजिक विकास कार्यालयको भूमिका, सार्वजनिक सेवा प्रवाह र सुशासन, बालबालिकासम्बन्धी ऐननियम, अपाङ्गतासम्बन्धी ऐननियम र त्यसमा भएका अधिकारको प्रयोग, स्थानीय तहमा लैङ्गिक उत्तरदायी बजेट लगायतका विषयहरुमा सहजीकरण गरिएको छ । दुई दिनसम्म चल्ने कार्यक्रममा जिल्लास्थित स्थानीय तह, सरकारी कार्यालय र संघसंस्थाबाट गरी कुल १८ जना प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

कार्यक्रमको उद्घाटनसत्र सामाजिक विकास कार्यालयका लेखा अधिकृत त्रिबिक्रम शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । आइतबारको कार्यक्रममाथि जिल्ला न्यायाधीश पौडेल, प्रजिअ राना, सामाजिक विकास कार्यालय बागलुङका प्रमुख डम्बरबहादुर जिसी र म्याग्दीका प्रमुख रमेश थापाले सहजीकरण गर्नुभएको थियो ।

 

You can share this post!

रघुगंगा गाउँपालिकाको बार्षिक समिक्षा एवं सार्वजनिक सुनुवाई

आईएमई लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी बीमा रकम भुक्तानी

Related posts