म्याग्दी, ८ असोज । नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूपु सैनिक तथा प्रहरी संगठनको धौलागिरी गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ । बिहिबार धौलागिरी गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न भेलाले रेशम पुनको अध्यक्षतामा ११ सदस्यीय धौलागिरी गाउँपालिका स्तरीय कमिटि गठन गरेको छ ।
कमिटिको उपाध्यक्षमा राम बहादुर जुग्जाली , सचिवमा महेश छन्त्याल, कोषाध्यक्षमा जीत बहादुर भण्डारी, सहसचिवमा टेक बहादुर केसी चयन हुनु भएको छ । त्यसैगरि सदस्यहरुमा ओम बहादुर भण्डारी, गंगा बहादुर पुन, काले पुन, भक्त बहादुर जुग्जाली, बिष्णु कुमार भण्डारी र कर्ण बहादुर थापा रहनुभएको छ ।
जिल्ला कमिटिका अध्यक्ष क्या. दिपक जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले देश बिकास र परिवर्तनका लागि एमाले दरिलो खम्बा भएको बताउनुभयो । यतिबेला जिल्ला भर पार्टीको भातृ संगठन निर्माण तथा अगुवा कार्यकर्ता भेटघाट अभियान संचालन गरिएको भन्दै श्रेष्ठले एमालेमा जनलहर कायमै रहको दाबी गर्नुभयो । उहाँले समृद्ध नेपाल निर्माणको अभियान लिएर अगाडि बढिरहेको सरकारलाई ढलाएर परमादेशबाट बनेको गठबन्धनको सरकारले जनभावना अनुसार काम गर्न नसक्ने ठोकुवा गर्नुभयो ।
भेलामा बोल्दै एमाले म्याग्दीका सचिवालय सदस्य, अखिल नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष एबँ धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले एमालेलाई बलियो बनाउन भूपु सैनिकहरुको महत्वपुर्ण भुमिका रहने बताउनुभयो । साथै उहाँले सबै भूपु सैनिकहरुलाई एमालेमा आबद्ध हुन अनुरोध गर्दै पार्टीको अबिभावकको भुमिकामा रहन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा धौलागिरी गाउँपालिका उपाध्यक्ष रेशम छन्त्याल, सुबेदार अर्जुन केसीले मन्तब्य ब्यक्त गर्नुभएको थियो । भेला जिल्ला कमिटि उपाध्यक्ष क्या.धर्मराज बानीयाँको स्वागत र सचिव रमेश फगामीको संचालनमा सम्पन्न भएको थियो ।