म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध तीर्थस्थल गलेश्वरधाममा भक्तजनको घुइँचो लागेको छ । कोरोना माहामारीकै बीचमा पनि काठमाडौं, चितवन, पोखरा, बागलुङ्ग पर्वत, मुस्ताङ र स्याङ्जालगायतका जिल्लाबाट कालीगण्डकी स्नान र शिवालय दर्शनको लागि श्रद्धालुहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
पौराणिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले अति महत्वपूर्ण मानिएको गलेश्वरधाम क्षेत्र रघुगङ्गा नदी र कालीगण्डकीको पवित्र सङ्गममा पर्दछ ।
नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित यस धामामा पूजाअर्चना गरेमा पारिवारिक सुख र शान्ति प्राप्त भई मनोकामना पूरा हुने जनविश्वास छ ।
पौराणिक पात्र जडभरतको तपस्थलीका रुपमा परिचित गलेश्वरधाममा परपम्परागत रुपमा रोट चढाउने, वृषोत्सर्ग गर्ने, १०८ बेलपत्र चढाउँदा मनोकामना पूरा हुने विश्वास रहेकोले यस क्षेत्रमा पुजा आधारना गर्न पोखरादेखि आएको एक जना व्रतालुले बताउनु भयो ।
मन्दिरमा प्रवेशद्वारदेखि पूजास्थल सम्म नै उच्च सतर्कता र आवश्यक सुरक्षाका साथै पूजाको व्यवस्था गरिएको छ । भक्तजनलाइ अनिवार्य रुपमा मास्क र सेनिटाइजरको प्रयोग गर्न लगाइएको शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
मन्दिर परिसर भित्र नै स्वाथ्य आवस्था चेकजाँचको व्यवस्थापन पनि मिलाइएको छ । मन्दिरको पूर्व पट्टिको द्वारबाट भक्तजनहरुलाई पूजा गर्न लाइनमा राखिएको छ भने दक्षिण द्वारबाट बाहिर निस्कने व्यवस्था मिलाई कोसले जनाएको छ ।