म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं. ४ को खाम्लमा अपर म्याग्दी जलविद्युत आयोजनाको बाँध निर्माण (कंक्रिट कार्य) सुरु गरिएको छ । निर्माणधिन ५३ दशमलव पाँच मेगावाट क्षमताको जलविद्युत आयोजनाले निमार्ण कार्य तिब्र पारेको छ ।
म्याग्दी हाइड्रोपावर लिमिटेडद्वारा निर्माण थालिएको उक्त आयोजनाको गाउँपालिका अध्यक्ष प्रेम प्रसाद पुनले उद्घाटन गरी म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो, ४० मिटर लामो बाँध निर्माण थालेको हो ।
पश्चिम क्षेत्रका यस्ता जलविद्युत आयोजनाहरुले जिल्लाको विकासमा महत्वपूर्ण भूमिका हुने पालिका अध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार जलविद्युत आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्न पालिकाका तर्फबाट साथ, सहयोग र सहजिकरण हुनेछ ।
वुधबार आयोजना स्थलमा गाउपालिकाका पूर्वअध्यक्ष थमसरा पुन, धवलागिरी–४ का वडा अध्यक्ष यामप्रसाद घर्तिमगर लगायत जनप्रतिनिधि र स्थानीय अगुवाहरूको उपस्थितिमा निर्माण सुरु गरिएको आयोजना प्रमुख ज्योती कुमार केसीले जानकारी दिनुभयो ।
एक वर्ष अघि निर्माण थालिएको उक्त आयोजनाको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्याक्टरले पहाड काटेर बाँध निर्माण स्थल तयार पारिएकोे छ । केसीका अनुसार वि.स.२०८३ फागुन २१ गते विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बाँधसँगै सुरुङ र विद्युतगृह निर्माणको कामलाई तीव्रता दिएको छ । अहिले सम्म आयोजनाले १६ प्रतिशत भौतिक प्रगति भएको छ ।
वि.स. २०८१ भदौ १२ गतेदेखि धवलागिरी–४ छहरीमा सुरू भएको एक सय ९८ दशमलव ९० मिटर लामो अडिट नम्बर २ को प्रवेशमार्ग सुरुङ खनेर थप पाँच सय ३० मिटर मुख्य सुरुङ निर्माण भैरहेको छ । आयोजनाका प्रबन्ध निर्देशक लक्ष्मण न्यौपानेका अनुसार पाँच किलोमिटर सात सय मिटर सुरुङ मध्य केही दिनमा बाँध र मालिका गाउँपालिका–७ भारवाङको आउटलेट तर्फबाट पनि खन्न सुरू गर्ने तयारी गरिएको छ ।
सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकको ऋण, प्रवद्र्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत् जुटाइने ११ अर्ब २३ करोड २७ लाख छ हजार रुपियाँ लगानीमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ ।
रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युतगृहको उचाइ १९६ मिटर छ । आउटलेटबाट पानीलाई विद्युतगृहमा खसाल्न छ सय ९२ मिटर पेनस्टक पाइप जडान गरिने भएको छ ।