नजिकिदै म्याग्दी महोत्सव, तयारी तिव्र

म्याग्दी । म्याग्दीको बेनीमा यहि पुस २८ देखि माघ ८ गते सम्म आयोजना हुने आठौं म्याग्दी महोत्सवको तयारी तिव्र पारिएको छ । नेपाल सरकारका उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुहुने महोत्सवको तयारीमा मुल आयोजक संस्था म्याग्दी उद्योग वाणिज्य संघ जुटेको छ ।

महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी तथा विक्री वितरणलाई प्राथमिकतामा राखिएको म्याग्दीको उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । स्थानीय उत्पादनका लागि ३० वटा स्टलहरुलाई निशुल्क गरिएको उहाँले बताउनुभयो ।

यसैगरी जिल्लाका स्थानीय व्यवसायीहरुलाई २० वटा स्टल ३० प्रतिशत छुटमा उपलब्ध गराएको संघले जनाएको छ । जिल्लामा उत्पादन भएका बस्तु तथा सामाग्रीलाई विक्री वितरण तथा प्रचार प्रसारका लागि प्रदर्शनीमा राख्न निशुल्क स्टलको व्यवस्था गरिएको संघले जनाएको छ । महोत्सवमा वन, कृषि र लघुउद्यम सम्बन्धि स्थानीय उत्पादनका सामाग्रीहरुको व्यापार र प्रदर्शनीका लागि २३ वटा स्टल र जिल्लाका छ वटै स्थानीय तहलाई एक÷एक वटा स्थल उपलब्ध गराइएको म्याग्दी उद्योग बाणिज्य संघका महासचिव नारायण जिसीले जानकारी दिनुभयो ।

महोत्सव सञ्चालन हुने बेनीको खुलामञ्चमा राखिने १३३ वटा व्यावसायिक स्टल, २२ वटा होटलका स्टल समेत बुकिङ्ग भैसकेको संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । महोत्सवमा विद्यालयहरुको नवप्रवद्र्धन र विज्ञान प्रदर्शनीका लागि समेत ७ वटा स्टल निशुल्क उपलब्ध गराउने तयारी गरिएको छ । विभिन्न व्यापारिक स्टलका लागि नाम टिपाएका ६० जना बढीलाई ठाउँ अभाब भएको र खुलामञ्च नजिकै रमाईलो मेला सञ्चालन हुने क्षेत्रमा समेत थप स्टल बनाउने तयारी गरिएको संघका बरिष्ठ उपाध्यक्ष शाक्यले बताउनुभयो ।

महोसत्सवमा म्याग्दीमा जन्मिएर राष्ट्रिय तथा अन्तरािष्ट्रय स्तरमा ख्यातीप्राप्त व्यक्तिहरुलाई सम्मान गरिने छ । महोत्सवमा खुल्ला लोकदोहोरी गीत, गण्डकी प्रदेश स्तरीय अन्तर पालिका पुरुष भलिबल तथा खुल्ला महिला भलिबल, गण्डकी प्रदेश भित्रका वडा स्तरीय बास्केटबल प्रतियोगिता, व्याडमिण्टन लगायतका खेलकुद तथा खुल्ला रत्यौली ,भजन, पुख्र्यौली नाच म्याग्दी आइडल एकल लोकनृत्य लगायतका साँस्कृतिक प्रतियोगितालाई समावेश गरिएको छ ।

१० करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोवार हुने लक्ष्य राखिएको महोत्सवमा एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ रुपियाँ खर्च भएर पाँच लाख १० हजार ८६ रुपियाँ बचत गर्ने लक्ष्य लिएको संघका कोषाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव सफल बनाउन विभिन्न ३७ वटा उपसमिति गठन गरेर तयारीलाई तिब्रता दिईएको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । भने स्थानीय जातजातिका मौलिक कला संस्कृति र भेषभूषा सहितको झाँकी प्रस्तुत गरिने छ ।

You can share this post!

बाल कलाकार सचिन परियारको निधन

म्याग्दी मिडिया सोसाईटी अध्यक्षमा विश्वकर्मा

Related posts