दग्नाम–दर्मिजा–चिमखोला सडकको उद्घाटन

दग्नाम–चिमखोला सडकको उद्घाटन
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको दग्नाम–दर्मिजा–चिमखोला हुँदै कुइनेमङ्गले जोड्ने रणनीतिक महत्वको मोटरबाटोको उद्घाटन गरिएको छ । रघुगङ्गा–४, दर्मिजामा सोमबार आयोजित एक समारोहबीच कुइनेमङ्गलेकी ९३ वर्षीया उदिमा विश्वकर्मा, दर्मिजाका ९६ वर्षीय दलबहादुर गर्बुजा र चिमखोलाकी १० वर्षीया बालिका लिस्मा पुनले संयुक्त रुपमा रिबन काटेर सडकको उद्घाटन गरेका हुन् ।
निकै जोखिमपूर्ण मानिएको स्थानीय अजिङ्गर भीरको ट्र्याक छिचोलिएपछि सडकको उद्घाटन सम्भव भएको हो । यो सडकको उद्घाटनसँगै गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम, चिमखोला र कुइनेमङ्गलेको आवागमनमा सहज हुने भएको छ ।
मोटरबाटो उद्घाटनपछि बोल्दै ज्येष्ठ नागरिकद्वय विश्वकर्मा र गर्बुजाले सडक बनेर गाउँमा मोटर आएकोमा आफुहरुलाई निकै खुशी लागेको विचार व्यक्त गरेका छन् । “मान्छे हिँड्न नमिल्ने भीरमा अहिले मोटर चल्न शुरु हुँदा हामी खुशी भएका छौं,” गर्बुजाले भने, “अझै हामीलाई उद्घाटन गर्न दिनुभयो, यो साह्रै खुशीको विषय छ ।”
मोटर बाटो उद्घाटनपछिको समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले दर्मिजा, चिमखोला र कुइनेमंगले क्षेत्रमा सडक सञ्जालको पहुँच सुनिश्चित गर्न गाउँपालिकाले स्थानीय सरकारको गौरवको योजनाभित्र समेटेको र संघ, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीय नागरिकको सहयोगमा सडक विस्तार सम्भव भएको जानकारी गराएका थिए । सडकको उद्घाटनसँगै गाउँको विकासको ढोका खुलेको बताउँदै अध्यक्ष भण्डारीले अब स्थानीय जनताको आयआर्जनमा वृद्धि गर्ने, उद्यमशीलता बढाउने लगायतका प्रोत्साहनमूलक कार्यक्रम ल्याइने प्रतिबद्धता जनाएका थिए ।


रघुगङ्गा गाउँपालिका–४ का वडा अध्यक्ष एकबहादुर गर्बुजाले स्थानीय सरकार आउनु भन्दा पहिलेदेखि मौवाफाँट–दग्नाम–चिमखोला सडकका लागि धेरै बजेट खर्च भैसकेको जानकारी दिए । “तर, स्थानीय सरकार आएपछि, संघ, प्रदेश र हाइड्रोपावरको सहयोगमा सोचेभन्दा निकै छिटो सडक खुल्यो । यसमा हामी निकै खुशी छौं,” वडा अध्यक्ष गर्बुजाले भने ।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस, म्याग्दीका सभापति खमबहादुर गर्बुजाले सडकले जनतालाई राहत मिलेको बताउँदै बाह्रै महिना सडक सञ्चालन गर्ने अवस्था गराउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
समारोहमा गाउँपालिको वडा नं। १, ३, ६, ७ र ८ का वडा अध्यक्षहरु क्रमशः बिलबहादुर फगामी, जीवन मल्ल, मनकुमार शेरपुञ्जा, देउप्रसाद पुन र गमान छन्त्यालले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैगरी नेकपा, चिमखोलाका गम पुन, उपभोक्ता समितिको तर्फबाट संयोजक सुविन शेरपुञ्जा, जलविद्युत् आयोजना तुँदी पावर कम्पनीका प्रबन्धक उपेन्द्र गौतम र संयुक्त ऊर्जा प्रालिका प्रतिनिधि सुवासचन्द्र बराललगायतले पनि कार्यक्रममा बोलेका थिए ।
समारोहमा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले सडक निर्माणका लागि १७ करोडभन्दा धेरै बजेट खर्च भएको जानकारी गराएका थिए ।
गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षता, उपाध्यक्ष कमला गर्बुजाको स्वागत एवं प्रमुख प्रशासकीय अधिकृत सुवेदीको सञ्चालनमा उद्घाटन समारोह सम्पन्न भएको थियो ।
आर्थिक वर्ष २०५६र५७ देखि गलेश्वर–मौवाफाँट–दग्नाम–चिमखोला–घ्याँसीखर्क सडकका रुपमा निर्माण शुरु गरिएको यो सडकको कच्ची ट्र्याक खुल्न २२ वर्ष लागेको छ ।
राष्ट्रिय सभाका तत्कालीन सदस्य माननीय थममायाँ थापाको पहलमा सडकको निर्माण शुरु भए पनि माओवादी द्वन्द्वलगायतका राजनीतिक घटनाक्रम र अपुग बजेटका कारण सडक निर्माणले गति लिन सकेको थिएन ।

You can share this post!

बेनीमा दुइ महिनामा ३ वृद्ध महिलालाइ झुक्याएर लुटेराले सुन लुटे

जिपको ठक्करले सहपाठीको मृत्यु भएपछि जावलाखेलमा विद्यार्थीको प्रदर्शन

Related posts