बेनी । म्याग्दीमा पहिलोपटक आयोजित अन्तर विद्यालयस्तरीय थाली नाच प्रतियोगितामा बेनी स्थित बेनी बोर्डिङ आवासीय मावि प्रथम भएको छ । शनिबार सामाजिक विकास कार्यालय म्याग्दी र म्याग्दी जेसिजले आयोजना गरेको प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि द्धितिय, डनिङ आवासीय मावि बावियाचौर तृतिय भएका छन् । प्रतियोगितामा दश विद्यालयले सहभागिता जनाएका थिए । थाली नाचमा नयाँ पुस्ताको आर्कषण बढाउने उद्धेश्यले आयोजित प्रतियोगिताका प्रथम, द्धितिय र तृतिय हुने विद्यालयले क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारी, कार्यालय प्रमुख रमेश थापा,नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञजय कुमार श्रेष्ठ, अध्यक्ष दिनेश बानियाँ, लोकप्रिय गायिका मन छन्त्याल श्रेष्ठ, म्याग्दी जेसीजका प्रतियोगिता संयोजक डिके चोचाङ्घी पुन लगायतले सम्मान गरेका थिए ।
म्याग्दीको सांस्कृतिक पहिचान बनेको थाली नाचको उद्गम थलो जिल्लाको रघुगंगा गाउँपालिका–७,स्थित चिमखोला गाउँ हो । चिमखोलामा सर्बप्रथम थाली नाचको सृजना भारतीय सेनाबाट अवकाश प्राप्त स्वर्गीय हवल्दार थमान पुन मगरले गर्नुभएको इतिहास रहेपनि यसको थप प्रचार र नाचलाई जीवन्त बनाउने श्रेय हिरामाया पुन मगरलाई जान्छ ।
आकर्षक तर सावधानीपूर्वक नाचिने थाली नृत्यको मौलिकता पुस्तान्तरण गर्न जिल्लामा तालिमहरु समेत सञ्चालन गरिँदै आएको छ । हातमा थाल राखेर नचाउने भएकाले यस नृत्यलाई ‘थाली नाच’ नामकरण गरिएको हो । म्याग्दी सहित देशका विभिन्न ठाउँमा हुने मेला महोत्सव, सम्मेलन लगायत हरेक कार्यक्रममा समेत थाली नाच देखाउने गरिएको छ । गीतको लय र शब्दसँगै हातमा थाल राखेर नाचिने थाली नृत्यलाई म्याग्दीलीहरुले देशभित्र मात्र नभई विदेशमा पनि पुर्याएका छन् ।
वि.सं. २०१३ सालमा स्वर्गीय हवल्दार थमानले गाउँमा थाली नाच प्रस्तुत गर्नुभएको थियो भने । पछि बि.सं. २०२८ सालमा हिरामायाले पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गर्नुभएको थियो । बि.सं.२०४४ सालमा काठमाडौँमा भएको सार्क सम्मेलनमा प्रदर्शन गरेपछि थाली नाचको राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको हो । धनकुमारी थापासहितका ४ जनाको टोलीले बि.सं. २०४२ मा वीरगन्जमा भएको तेस्रो राष्ट्रिय लोकनृत्य प्रतियोगितामा सामूहिक थाली नृत्य प्रस्तुत गरेर प्रथम स्थान हासिल गर्नुभएको थियो ।