म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीय मीना परियारलाई बेपत्ता बनाइ हत्या गरिएको घटनामा दोषीलाई कारवाहीका लागि यहाँका दलित अधिकारकर्मीहरुले निरन्तर आवाज उठाईरहेका छन । मिनाको परियारलाई न्यायका निम्ती भन्दै विभिन्न संघर्षका कार्यक्रमहरु भईरहेका छन । संयुक्त राजनैतिक दलित संघर्ष समितिले शुक्रबार विहान पत्रकार सम्मेलनको आयोजना गरि घटनाको बारेमा हाल सम्मका गतिविधिहरु सार्वजनिक गरेको छ । साथै जिल्लाका दलित अधिकारकर्मीहरुले दलित भएकै कारण प्रशासनले यो केसमा आलटाल गरिरहेको गुनासो गरेका छन ।
कार्यक्रममा संघर्ष समितिका अध्यक्ष पदम किसानले मिना परियारको घटनामा संलग्नलाई कारवाहीका लागि परिवारको तर्फबाट किटानी जाहेरी दिएको बताउनुहुँदै यथाशिघ्र सत्य तथ्य छानविन गरि दोषीलाई कडा कारवाही गर्न माग गर्नुभयो । दलित अधिकार लालु किसानले वेपत्ता भएको एक महिना सम्म पनि प्रहरीले मुद्दा दर्ता गर्न अनाकानी गरेको बताउनुभयो । मन्त्रीको फोर्स लगाएर बल्लतल्ल मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो ।
उजुरी दिएको एक महिना सम्म पनि प्रहरीले कुनै खोजतलास नगरेपछि परिवारकै सक्रियतामा प्रमाण जुटाएर बल्ल आरोपितलाई प्रहरीले पक्रिएको उहाँको भनाई थियो । मिनाको न्यायका निम्ती संघर्षका आन्दोलन निरन्तर जारी रहने पनि उहाँले उद्घोष गर्नुभयो । संघर्ष समितिका सल्लाहकार टेक बहादुर विक सुवासले फकाईफुलाई प्रेममा पारेर गर्भवती अवस्थामा बेपत्ता बनाइ हत्या गरिएकी मीनाको शव भेटिए पनि सबै आरोपीलाई पक्राउ गरि अनुसन्धानमा ढिलाइ भएकाले दबाब दिन संघर्षका कार्यक्रम गरिएको बताउनुभयो ।
‘६ महिनाकी गर्भवती मीनालाई बेपत्ता बनाउने उनका प्रेमी राम खत्रीलगायत पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका मिनाकी भाउजु कमला परियारले बताउनुभयो । ‘जंगलमा गाडिएको अवस्थामा भेटिएको शव, गहना र कपडा मिनाकै भएको पहिचान गरेर जाहेरी दिए पनि प्रक्रियाको वहानामा सबै आरोपीलाई पक्राउ नगर्दा दोषी उम्कने खतरा छ ।’ उहाँले भन्नुभयो ।
गत साउन २७ गते बेनी नगरपालिका–९ आँखखेत कालीमूलको जंगलमा गाडिएको अवस्थामा भेटिएको शव, सुनको सिक्री, कपडा र चप्पल २०८० पुस १६ गतेदेखि बेपत्ता मीनाको भएको पहिचान गरेका आफन्तले साउन ३० गते प्रेमी राम खत्रीलगायत पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । राम खत्रीलाई यसअघिनै पक्राउ गरि पुर्पक्षका लागि थुनामा पठाईएको छ ।
जाहेरीका आधारमा अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरी हिरासतमा राखिएको र एक जना फरार रहेकाले उनको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । शवको पोष्टमार्टमको रिपोर्ट आइनसकेको उहाँले बताउनुभयो ।