म्याग्दी, साउन १० गते । बेनी नगरपालिका ५ पुरुण्डी गाउँमा वर्षौंदेखि पिउने पानीको समस्या छ । दशदेखि १५ घरधुरीको बिचमा रहेका पानीका धारामा मुस्किलले दैनिक एक देखि दुईघण्टा मात्र पानी आउँछ । यहाँ बसोबास गर्ने करिब एकसय घरधुरीलाई पिउने पानीको निकै समस्या छ । पुलाडाँडा पुरुण्डी खानेपानी योजनाले गाउँमा खानेपानीका ट्याङ्की र प्रत्येक घरहरुमा पानीका धाराहरु निर्माण गरेपछि पुरुण्डीवासीमा पानी आउने आशा पलाएको छ ।
एक गाग्री पानी लिन घण्टौं लाइन बस्नुपर्ने बाध्यता अहिले पनि पुरुण्डीवासीको छ । पालो पर्खिंदा धारामा पानी सुकेर रित्तो गाग्री लिएर घर फर्किनु परेको पीडा स्थानीय डिलबहादुर परियारले सुनाउनुभयो । त्यस्तै ध्रुव परियारलाई पनि बिहान बेलुका पानीकै चिन्ता छ । घरको आँगनमा बनेका धाराबाट पानी आउने आशामा परियार हुनुहुन्छ ।
पुरुण्डीवासीले भोगेको पानीको समस्या समाधान गर्न बेनी नगरपालिकाले अहिले एक घर एक धारा योजना सञ्चालन गरेको छ । योजना अन्तर्गत पुरुण्डीवासीहरुको घरघरमा पानीका धारा बनेका छन् । पुरुण्डीवासीहरुको सपना पुरा गर्न ७० लाख रुपियाँको लागतमा पुलाडाँडा पुरुण्डी खानेपानी योजना अहिले निर्माणाधीन छ ।
पिउने पानीको धेरै समस्या भोगियो, एक गाग्री पानी लिन घण्टौंसम्म पनि पालो पर्खिनुपर्ने बाध्यता छ घरको आँगनमा बनेको धारो देखाउँदै डिलबहादुरले भन्नुभयो, “धारा बनेपछि पानी आउने आशा जागेको छ । अब त हाम्रा दुःखका दिन जान्छन् होला । दुईचार महिना भित्रमा धाराबाट पानी खस्छ भन्छन् । पानी आउने दिन पर्खिएर बसेका छौं ।“
“गाउँको सिरानमा बनेको पानीको ट्याङ्की देखाउँदै खुसी हुँदै हामीलाई आवश्यक पर्ने पानी यही जम्मा हुन्छ,“ उहाँले भन्नुभयो । चन्द्रदेवी परियार पनि आँगनमा पानीका धारा बनेपछि खुसी हुनुहुन्छ । एक गाग्री पानी लिन एक घण्टा पैदल हिँड्नुपरेको सम्झिदै उहाँले गाउँदेखि माथि बनेको पानी ट्याङ्की देखाउँदै भन्नुभयो, “ठूलो पानीको ट्याङ्की निर्माण भइसकेको छ । घरको आँगनमा पनि धारा बनेका छन् । अब त कसो पानी नआउला र !“
चनौटेस्थित पानीको स्रोतलाई पाइलाइनमार्फत् पुरुण्डीमा निर्माण भएको ट्याङ्कीमा जम्मा गरेर पानी वितरणको तयारी गरिएको छ । योजनामा ३० घनमिटरको एकवटा र २० घनमिटरको दुईवटा पानी संकलन गर्ने ट्याङ्की निर्माण गरिएको छ । एकसय ५ वटा निजी धारा निर्माण भइसकेका छन् भने केही धाराहरु निर्माणाधीन छन् । बृहत घोप्टेखोला खानेपानी आयोजनाको पानीलाई समेत स्रोत मानेर योजना निर्माण गरिएको छ । योजनाको साइट इन्जिनियर गौरीश्वर रिजालका अनुसार योजना अन्तिम चरणमा पुगेको र फिनिसिङ र फिटिङको काम मात्र बाँकी रहेको बताउनुभयो ।
संघीय सरकारको बजेटबाट निर्माण हुने योजना सम्पन्न गर्न बानियाँ निर्माण सेवासँग बेनी नगरपालिकाले ठेक्का सम्झौता गरेको थियो । पानीको स्रोतको अभाव र योजनामा बजेटको सिमिताका कारण वडावासीहरुलाई पिउने पानी उपलब्ध गराउन चुनौती खडा भएको वडाध्यक्ष गोबिन्दबहादुर बानियाँले बताउनुभयो। उहाँले भन्नुभयो, “वर्षौंदेखि खानेपानीको चरम अभाव भोग्दै आएको पुरुण्डीको वस्तीमा खानेपानी सुविधा विस्तारका लागि योजना निर्माणधिन अवस्थामा छ । चालु आर्थिक वर्षका लागि संघीय सरकारले बजेट उपलब्ध नगराउँदा योजना अधुरै हुने चिन्ता बढेको छ ।“ योजना पुरा नहुँदै संघीय सरकारले बजेट कटौती गरेकाले बजेट व्यवस्थापन गरेर योजना सम्पन्न गर्न कठिनाई उत्पन्न भएको नगर प्रमुख सुरत केसीले बताउनुभयो । गोरखापत्र