म्याग्दी । म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिरमा साउनको पहिलो सोमबार बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । गलेश्वर मन्दिरमा दर्शनका लागि बिहानैदेखि दर्शनार्थीहरुको भिड लागेको हो ।
साउन महिनाको सोमबार भगवान् शिवको पूजाआराधाना गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । गाउँघरमा रोपाइको चटारो भएको र बाढीपहिरोका कारण सडक अवरुद्ध हुदाँ समेत भक्तजनहरु बिहानै मन्दिरमा दर्शन गर्न आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्षमा माधवप्रसाद रेग्मीको भनाई छ । मन्दिरमा पुजापाठका लागि म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, तनहुँ लगायतका जिल्लाहरुबाट भक्तजन आएका छन ।
पूजापाठ र मन्दिरमा दर्शन गर्न भक्तजनलाई व्यवस्थापन गर्न विभिन्न २३ वटा उपसमिति गठन गरिएको छ । हरियो चुरा, हरियो तथा पहेलो वस्त्रमा सजिएका विवाहीत महिला पारिवारिक सुख र अविवाहीत युवतीहरु राम्रो बर पाइयोस् भन्ने कामनासहित साउनको सोमबार शिवालयमा पुगेर पूजा गरी व्रत बस्ने चलन रहेको छ ।
गलेश्वर शिवालयको दर्शन तथा पूजापाठका साथै १०८ शिवलिङ्मा कालीगण्डकी नदीको जल अर्पण गरेमा पारिवारिक सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास रहेको छ । हिन्दू धर्मग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको छ । पवित्र कालीगण्डकी नदीबाट उठेर ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित मन्दिर सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन गएको विभिन्न धार्मिक ग्रन्थ तथा पुराणहरुमा उल्लेख गरिएको पाइन्छ ।