अमित विश्वकर्मा ।
बेनी, १८ असार । म्याग्दीको बेनी नगरपालिकाले नगर क्षेत्रको मौलिक कला र संस्कृतिको संरक्षण र प्रवर्धनमा विशेष पहल थालेको छ । नगरपालिकाका दश वटै वडामा रहेका विभिन्न मौलिक कला र संस्कृतिलाई उजागर गर्न नगरले विभिन्न कार्यहरु संचालन गर्दै आएको हो ।
नगरपालिका भित्र बसोबास गर्ने व्राह्मण, क्षेत्री, मगर, नेवार, गुरुङ, थकाली, दलित, छन्त्याल लगायतका जातजातिहरुको आ–आफ्नै भेषभुषा, परम्परागत रुपमा चल्दै आएका संस्कार र संस्कृतिहरु रहेका छन । यी संस्कृतिहरुलाई अमुल्य नीधिको रुपमा लिदै बेनी नगरपालिकाले विकास र संरक्षणका योजनाहरु अघि सारेको छ ।
नगरभित्रका अनेकन् लोक संस्कृतिलाई पर्यटन विकास संग जोडेर पनि नगरपालिकाले विभिन्न कार्ययोजनाका साथ काम गरेको हो । परम्परागत मौलिक लोक संस्कृतिलाई पुस्ता हस्तान्तरणका लागि तालिम तथा प्रशिक्षणहरु समेत संचालन गर्दै आएको नगरपालिकाले भौतिक विकासका साथै सांस्कृतिक विकासलाई पनि संगसंगै अगाडि बढाउने पहल थालेको छ ।
बेनी नगरपालिकाको वडा नम्वर ७ र ८ मा रहेका नेवार समुदायभित्र प्रचलित वर्षे नाच म्याग्दी जिल्लाकै प्रतिनिधित्व गर्ने प्राचिन लोक संस्कृतिको रुपमा रहेको छ । वर्षे रोपाई सहित खेतिपाती लगाउने काम सकिएपछि फुर्सदको समयमा जिल्लाका ग्रामिण भेगमा मानिसहरुलाई समेत बेनी बजार आउन अभिप्रेरित गर्ने गरि बेनीमा सुरु भएको बर्षे नाँच निकैनै पुरानो भएको र यसको छुट्टै सांस्कृतिक महत्व रहेको बेनीका अग्रज कलाकार संजय कुमार श्रेष्ठ बताउनुहुन्छ ।
यस नाँचभित्र लाखे नाँच, घोडे नाँच, भोट ेनाँच, गोरु नाँच, सिकारी नाँच, असारे रोपाई नाँच, नागानागीनि नाँच लगायत रहेका छन । त्यस्तै हनुमान नाँच, धिमेबाजा नागानागीनि नाँच नेवार समुदायको मुख्य संस्कृतिको रुपमा रहेका छन । बेनी नगरपालिका वडा नम्वर ७ र ८ बेनीमा नेपाल भाषा मंकाःखलको संयोजनमा नगरपालिकाले धिमे बाजा र हनुमान नाँच, नागानागीनी, लाखे, रोपाई लगायतका वर्षे नाँचको संरक्षण र पुस्ता हस्तान्तरणका लागि तालिम तथा प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । यसबाट नेवार समुदायका नयाँ पीडिले धिमे बाजा बजाउन थालेका छन भने पुस्तौ पुरानो हनुमान नाच र नागानागानी नाँचमा पनि नयाँ पीडि सम्मिलित भएको देख्न सकिन्छ ।
मगर समुदायको प्रचलित पुख्यौली गीत र नाँच पनि बेनी नगरको सांस्कृतिक पहिचान हो । मादले र मारुनी बनेर विभिन्न शुभकार्यहरुमा मगर समुदायले प्रस्तुत गर्ने उक्त नाँचमा अलौकिक शक्ति समेत हुनेगर्दछ । सोरठी गीत सहितको यो नाँच सुरु गुर्नपुर्व सरस्वती जगाउने गरिन्छ । मादलको फरक फरक ताल अनुसार प्रस्तुत गरिने उक्त नाँचमा गीत र मादलको तालले सरस्वती जगाउदा कलाकारहरु तथा छेउँछाउँमा रहेका व्यक्तिहरु समेत काप्ने गर्दछन । र पछि गीत र मादलको तालबाटै फेरी उनिहरुलाई पुरानै अवस्थामा फर्काइन्छ । यो संस्कृति देशमै अनौठो र म्याग्दी जिल्लाकै अमुल्य सम्पत्तिको रुपमा रहेको छ ।
मगर समुदायमा रहेको उक्त प्रकारका लोक संस्कृतिलाई संरक्षण, थप विकास र पुस्ताहस्तान्तरण गर्नका लागि बेनी नगरपालिकाले वडा नम्वर ७ मा पुख्यौली गीत र नाँच तालिम संचालन गरेको थियो । मंगाला आमा समुहको सभाहलमा आयोजना गरिएको १ हप्ते तालिममा करिव ३० जना नयाँ पुस्ताले आफ्नो समुदायको पहिचान समेटिएको पुख्यौली नाँच सिकेका छन । १ हप्ताको तालिम पश्चात मारुनी बनेर नाच्न सिक्नुभएका साजन मगर आफ्नो समुदायको पुरानो लोक संस्कृतिलाई अनुसरण गर्न पाउँदा खुसि व्यक्त गर्नुहुन्छ ।
त्यस्तै बेनी नगरपालिका वडा नम्वर ३ को भकिम्ली र मुसुङमा रहेका सोरठी समुहलाई मादल लगायतका वाद्यवादन सामग्री र भाङ्ग्रा, कछाड, फेटा, गुन्यु चोली लगायतका ड्रेस खरिद गर्न नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ । गुरुङ समुदायको पेलुवादीहरुमा प्रचलित परम्परागत ख्यादु नाँच पनि बेनी नगरपालिकाको सांस्कृतिक गहनाको रुपमा रहेको छ । म्याग्दी जिल्लामा लोप भईसकेको अवस्थामा वडा नम्वर ४ थामडाँडाका गुरुङ समुदायले यो नाँचलाई पुनजीवित गराएका छन । बेनी नगरपालिकाको आर्थिक सहयोगमा कास्कीबाट प्रशिक्षक ल्याएर ख्यादु नाँचको तालिम संचालन गरेपछि त्यहाँका गुरुङ समुदायले ख्यादु नाँच आफै प्रस्तुत गर्न थालेका छन । १५ देखि २० जनाको समुहमा रहेर ध्याङ्ग्रो र झ्याली बजाउँदै गुरुङ समुदायको विशेष भेषभुषा सहित प्रस्तुत गरिने यो नाँच शुभ र अशुभ कार्यमा फरक फरक तालमा नाचिने तमु पेलु संघ म्याग्दीका अध्यक्ष राजु गुरुङ बताउनुहुन्छ ।
पछिल्लो समय बेनीमा प्रस्तुत हुने सांस्कृतिक झाँकीमा क्षेत्री समाजले प्रस्तुत गर्ने सरुन नाँच पनि अर्को आकर्षणको रुपमा रहेको छ । पोखराबाट तालिम लिएपश्चात यहाँका क्षेत्री समुदायले १ वर्षअघिदेखि मात्रै म्याग्दीमा यो नाँच देखाउन थालेका हुन । १० देखि १५ जनाको समुहमा रहेका क्षेत्रीका पुरुष कलाकारहरु देशभक्ति गीत बजाएर एक हातमा तरवार र अर्को हातमा ढाला लिएर कम्मरमा खुकुरी भिरेर नेपाली मौलिक पोषाक दौरा सुरुवाल र ढाकाटोपी लगाएर नाच्ने गर्छन सरुन नाँच । यो नाँचलाई क्षेत्री समुदायको ऐतिहासिक कला कौशलका साथसाथै देश प्रतिको सम्मान र विरताको प्रतिकको रुपमा पनि लिन सकिन्छ भन्नुहुन्छ, क्षेत्री समाज म्याग्दीक अध्यक्ष लक्ष्मी केसी । सरुन नाँचलाई संरक्षण गर्नका लागि बेनी नगरपालिकाले ढाला, तरवार, कुखुरी दौरा सुरुवाल लगायतका सामग्री खरिद गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।
नेपाली लोक संगीतको सर्वप्रीय तालबाजा मादल बजाउने सिप तथा कलाको विकास गर्न र युवा पुस्तालाई समेत मौलिक संस्कृतिको पहिचान गराउनका लागि बेनी नगरपालिकाले बेनी, वडा नम्वर ४ को सिंगा, वडा नम्वर ६ अर्थुङे, वडा नम्वर १० पात्लेखेतमा मादल बजाउन सिकाउने तालिम तथा प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । बेनीमा १० वटै वडाका आमा समुहहरुको प्रतिनिधिको रुपमा सहभागीता रहने गरि १५ दिन संचालन गरिएको तालिममा ७५ जनाको सहभागिता रहेको थियो ।
त्यस्तै सिंगामा ४० जना, अर्थुङेमा ५० जना र पात्लेखेतमा २८ जना महिलाहरु मादल बजाउने सिक्ने तालिममा सहभागी भएका थिए । महिला उद्यम विकास समितिको तर्फबाट सहभागी बेनपा ७ मंगलाघाट निवासी गंगा खत्रीले तालिमबाट गाउँघरमा हुने भजनकृतन, रत्यौली, लगायत पर्व विशेष कार्यक्रमहरुका मादल बजाउने सक्ने सिप सिकेको बताउनुहुन्छ । नगरपालिकाले कला संस्कृतिको संरक्षणका लागि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उहाँको भनाई छ ।
बेनी नगरपालिकाको सांस्कृति विविधतामा अर्को महत्वपूर्ण लोक संस्कृति हो नौमति बाजा । नगरको वडा नम्वर २ भुकन्डे, वडा नम्वर ५ पुलचौर, ६ नेपाने, वडा नम्वर ९ घतान लगायतका वडाहरुमा परियार जातिले बजाउने परम्परागत नौमति बाजाले जिल्लामै फरक पहिचान बनाएको छ । पछिल्लो समय भकिम्ली, राक्से, वाखेत, पात्लेखेत लगायतका स्थानमा अन्य जातिहरुले बाजा बजाउन थालेका छन । सिंगामा महिलाहरुले बजाउने बाजा जिल्लाकै नमुनाको रुपमा रहेको छ ।
बेनी नगरपालिकाले आमा संग उपमेयर कार्यक्रम अन्तर्गत कला र सिप हासिल गर्न बेनपा १० पात्लेखेतमा महिलाहरुका लागि नौमति बाबा बजाउन सिक्ने तालिम संचालन गरेको छ । पञ्चे बाजा संरक्षण कार्यक्रम अन्तर्गत पात्लेखेत, नेपाने फापरखेत, घतानमा, भकिम्ली, राक्से लगायतका स्थानमा रहेका नौमति बाजा समुहलाई बाजाको सेट र कलाकारहरुको लागि ड्रेस उपलब्ध गराईएको बेनी नगरपालिकाका उपम्रमुख ज्योति लामिछानेको भनाई छ ।
यो संगै नगरपालिकाले आमा समुहहरुलाई मादल लगायतका सांस्कृतिक सामान तथा ड्रेस प्रदान, भजन समुहलाई वाद्यवादन सामग्री तथा दौरा सुरुवाल, परम्परागत आरन पेसा र सिपलाई विकास गर्नका लागि तालिम तथा सामग्री हस्तान्तरण, ज्येष्ठ नागरिक आश्रममा सामग्री प्रदान तथा विभिन्न क्लव, संघ संस्थाहरुलाई लोक सांस्कृतिक कार्यक्रम संचालनका लागि आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।
बेनी नगरपालिकाले यहाँको मौलिक लोक संस्कृतिको संरक्षण गर्न अधिकटम पहल गरेको बेनी नगरपालिका प्रमुख सुरत केसी बताउनुहुन्छ । वडा नम्वर ७ मा निर्माण गर्न लागिएको शान्तीपार्कमा गीत गाउने, कथा कविताहरु बाचन गर्ने, नाटक तथा अभिनयहरु मंचन गर्ने प्रयोजनका लागि शान्तीपार्क डवली बनाउने योजना रहेको नगर प्रमुख केसीले उहाँले सुनाउनुभयो । विद्यार्थीहरुमा शैक्षिक कला र संस्कृति संग सम्वन्धित ‘सोच, खोज र गर’े कार्यक्रम नयाँ आर्थिक वर्षदेखि संचालन गर्ने योजना नगरपालिकाले बनाएको छ । संस्कृति र संस्कार समाज विकासको अभिन्न अंग भएकाले पनि यहाँको परम्परागत मौलिक लोक संस्कृतिलाई जोगाउनका लागि नगरपालिकाले थप अध्ययन, अनुसन्धान संगै संरक्षणका कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेको संस्कृतिकर्मीहरु बताउछन ।