म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ९ स्थित ऐतिहासिक ढोलठान दरबारमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । विक्रम सम्वत १६३१ देखि १८४३ सम्म यहाँ पर्वत राज्यको राजधानी रहेको इतिहास छ । ऐतिहासिक महत्वको ढोलठानको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण गर्न थालिएको हो ।
ढोलठान दरबार क्षेत्रको संरक्षण र पूर्वाधार निर्माणलागि चालु आर्थिक वर्षमा भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत मार्फत ढोलठान संरक्षण योजनाका लागि १० लाख र पर्यटन तथा उद्योग कार्यालय म्याग्दी मार्फत १० लाख गरेर २० लाख रुपियाँको बजेटमा पर्यटन पूर्वाधार निर्माण गरिएको छ ।
पुरानो दरबार रहेको ठाउँमा मौलिक सीप, कला र स्रोतसाधनको प्रयोग गरेर विश्राम तथा दृश्यावलोकन स्थल, पदमार्ग र प्रवेशद्वार निर्माण गरिएको छ । दरबार प्रवेश गर्नका लागि ढुङ्गाको प्रयोग गरेर मौलिक सीपबाट आकर्षक किसिमको प्रवेशद्धार बनाइएको छ ।
हामीले ढोलठान दरबार क्षेत्रमा स्थानीय मौलिक सीप र कला प्रयोग गरेर पूर्वाधार निर्माण गरेका छौं उपभोक्ता समितिका सचिव याम विश्वकर्माले भन्नुभयो ‘‘दरबार क्षेत्रमा प्रवेशका लागि ढुङ्गाबाट निर्मित प्रवेशद्धार बनाएका छौं ।
यो प्रवेशद्धार जिल्लामा नयाँ मोडेलको भएकाले पर्यटकहरुलाई आकर्षित गर्ने विश्वास गरिएको छ । ढुङ्गा र माटोको प्रयोग गरेर दुई सय मिटर सिँढी चिनेको पदमार्गका साथै उद्यान र बसेर दृश्यावलोकन गर्न ढुङ्गाको सिँढीसहितको विश्रामस्थल बनाइएको छ । असार दोस्रो साता सम्म निर्माणका कार्य सम्पन्न गरिने सचिव विश्वकर्माले बताउनुभयो ।
प्रदेश सरकारकै थप १० लाख बजेटबाट उद्यान परिसरलाई संरक्षण गर्न टेवा पर्खाल निर्माण गरिएको छ । ढोलठानलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य अनुसार यसअघि ३० लाख बजेटबाट सडक, पदमार्ग, उद्यान, सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण भएको बेनी नगरपालिका ९ का वडाध्यक्ष चक्रबहादुर केसीले जानकारी दिनुभयो ।
ढोलठानमा थप पूर्वाधार निर्माणका लागि डिपिआर बनाएर अगाडी बढेको उहाँले बताउनुभयो । पुराना अभिलेख तथा चिनारीहरुको संरक्षण गरेर राख्न सङ्ग्राहलय बनाउने योजना रहेको उहाँले बताउनुभयो । तत्कालीन राजा डिम्ब बमको समयमा वि.सं.१६३१ देखि राजा हिउँदका चार महिना बेनी र अरू आठ महिना ढोलठानमा बसेर तत्कालीन पर्वत राज्य सञ्चालन गरेको इतिहास भएकाले संरक्षण गरेर पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्य रहेको वडाध्यक्ष केसीले बताउनुभयो ।
ढोलठानलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न पछिल्ला केही वर्षयता ५० लाख बढीको पूर्वाधार निर्माण गरिएका छन् । नगरपालिकाले गलेश्वरदेखि घतान हुँदै ढोलठान जोड्ने पदमार्ग बनाउने योजना अघि सारेको उहाँको भनाई छ ।
उद्यान निर्माणका क्रममा भेटिएका प्राचीन सामग्री सुरक्षित रुपमा राखिएको स्थानीयबासी राम बहादुर परियारले बताउनुभयो । तत्कालीन दरबार निर्माणमा प्रयोग भएका काठ, चटनी र नुन पिस्ने सिलौटो, झिँगटी, घरका पिल्लर, इटा लगायतका सामग्रीहरुलाई सुरक्षित गरिएको छ ।
समुन्द्री सतहदेखि एक हजार आठ सय ८० मिटर उचाइमा अवस्थित ढोलठानबाट धवलागिरि, अन्नपूर्ण, निलगिरि लगायत दर्जनौं हिमाल, सूर्योदयको मनमोहक दृश्यको अवलोकन गर्न सकिन्छ । साथै कालिगण्डकी, म्याग्दी नदी र पर्वत, बागलुङका रमणीय भूभागहरु अवलोकन गर्न सकिन्छ ।