म्याग्दी । म्याग्दी जेसिजले संचालन गरेको विद्यालय आँखा जाँच कार्यक्रम अनुसार बिहिबार बेनि नगरपालिका–६, अर्थुङ्गे अवस्थित श्री जामुनाखर्क मा.बि. मा बिद्यार्थि हरुको आँखा जाँच गरिएको छ ।
म्याग्दी जेसिजको आयोजना र नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बेनिको प्राबिधिक सहयोगमा संचालित उक्त कार्यक्रममा ६५ जना छात्र, ५३ जना छात्रा र ३२ जना शिक्षक शिक्षिका र अन्य गरि जम्मा १५० जना को आँखा जाँच गरिएको कार्यक्रमका संयोजक गोकुल बिश्वकर्माले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै बेनी नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि स्थापित जेसिज सामाजिक गतिविधिहरुमा पनि सक्रिय रहेकोमा प्रशंसा गर्नुभयो । यसरी नै युवाहरु मानवीय सेवामा लाग्ने हो भने समाज परिवर्तन हुन सक्ने उहाँको भनाई थियो ।
अध्यक्ष बानियाँले आँखा मानव जीवनको अभिन्न अंग भएकाले आँखाको हेरचाह गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई आँखालाई असर पर्ने गरि धुलोमैलोमा नखेल्न पनि आग्रह गर्नुभयो ।
म्याग्दी जेसिजका शाखा अध्यक्ष दिनेश बानियाँ नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बेनीका प्रमुख नेत्र अधिकृत समेत हुनुभएकाले उहाँ आफैले शिक्षक तथा विद्यार्थीहरुको आँखा जाँच गर्नुभएको थियो ।
यो कार्यक्रममा ४ जना विद्यार्थीहरुमा दृस्टि भ्रम भएको फेला परिएको र उक्त दृष्टिभ्रमका विद्यार्थीहरुलाई नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा मार्फत नेपाल नेत्र ज्योति संघ हिमालय आँखा अस्पताल पोखराबाट चस्मा माग गरि निःशुल्क बितरण गरिने जेसिजका शाखा अध्यक्ष बानियाँले बताउनुभयो ।
अन्य विद्यार्थीहरुको दृष्टि परिक्षण संगसंगै आँखाको भित्री भागहरु दृस्टी नसा, रेटिना लगायत आँखाका सवै भागहरुको जाँच गरि केहि विद्यार्थीहरुलाई औषधि समेत उपलब्ध गराईएको थियो ।
बेनि नगरपालिका–६ का वडा अध्यक्ष बानियाँको प्रमुख आतिथ्यता, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदीको बिशिस्ट आतिथ्यता रहेको कार्यक्रमको संचालन कार्यक्रम संयोजक गोकुल बिश्वकर्माले गर्नुभएको थियो ।