म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर २ वगरफाँटमा अवस्थित वुद्ध एकेडेमीले १७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
विहिबार विद्यालय प्राङगणमा एक समारोहको आयोजना गरि विविध साँस्कृतिक कार्यक्रम सहित भव्य रुपमा दिवस मनाएको हो ।
विद्यालयले दिवसको अवसरमा फागुन २२ र २३ गते शिक्षक, विद्याथी तथा अभिभावकहरु विच विभिन्न खेलकुद प्रतियोगिता समेत संचालन गरेको थियो ।
वार्षिक उत्सवको उद्घाटन गर्दै प्याव्सन म्याग्दीका अध्यक्ष हिरा पुनले जिल्लामा शैक्षिक जनशक्ति उत्पादनमा नीजि विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
अभिभावकहरुले नीजि विद्यालयलार्य गरेको विश्वास टुट्न नदिई निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्न नीजि विद्यालयका संचालक तथा शिक्षकहरु दत्तचित्त भएर लाग्नुपर्ने अध्यक्ष पुनको भनाई थियो ।
साथै अध्यक्ष पुनले राज्यले नीजि विद्यालयलाई पनि आवश्यक सहयोग तथा प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा न्यु वेष्ट पोइन्ट आवासीय माविका प्रीन्सिपल डि.वि दाहालले विद्यालयको शैक्षिक तथा अन्य अतिरिक्त क्रियाकलापहरुको बारेमा चर्चा गर्दै यस्ता गतिविधिहरुलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।
विद्यालयका प्रीन्सिपल थम बहादुर रोकाले विद्यार्थीहरुलाई अध्ययन संगसंगै व्यवहारिक र नैतिक शिक्षाको पनि आवश्यकता रहेकाले वुद्ध एकेडेमीले विद्यार्थीहरुको अनुशासनमा पनि ध्यान दिदै आएको बताउनुभयो ।
विद्यालयका संचालक एवम् लेखा प्रमुख देवि थापाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा विद्यालयलाई थप व्यवस्थित ढंगबाट संचालन गर्ने योजना बनाईएको बताउनुभयो ।
सो अवसरमा भलिबल, अन्धनिशान लगायत विभिन्न खेलकुद प्रतियोगिताहरुमा सहभागि भई विजेता बन्न सफल अभिभावक, शिक्षक तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थी तथा अभिभावकहरुले समेत विभिन्न नृत्य प्रस्तुत गर्नुभएको थियो । विद्यालय संचालक समितिका अध्यक्ष मन प्रसाद थजालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन शिक्षक प्रेम नेपाली र खिमसरा गुरुङले गर्नुभएको थियो ।