म्याग्दी । म्याग्दी जेसिजको आयोजनामा बुधबार देखि बेनीको खुल्ला मञ्चमा संचालन हुने राम–विमला फाउन्डेसन २१ औँ अन्तर मावि जेसिजकप फुटबल प्रतियोगिताको उद्घाटन गरिएको छ ।
गण्डकी प्रदेश सभा सदस्य तथा राम–विमला फाउन्डेसनका अध्यक्ष विमला गौचनले मंगलबार जेसिज सचिवालयमा फुटबलमा हस्ताक्षर गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सभा सदस्य गौचनले जिल्लाको खेलकुद विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो । उहाँले आफ्नो श्रीमान राम गौचनको स्मृतिका विधिवत रुपमा स्थापना गरेको फाउन्डेसनले प्रतियोगिता संचालनका लागि सहयोग उपलब्ध गराएको बताउनुभयो ।
सो अवसरमा उहाँले म्याग्दी जेसिजका शाखा अध्यक्ष सुमन बानियाँलाई फाउन्डेसनको तर्फबाट टाईटल स्पोन्सर बापतको नगद रु १ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो ।
बेनी नगरपालिकाका मेयर सुरत केसीले खुल्ला मञ्चलाई मिनी रंगशाला बनाउने योजना बजेट अभावका कारण विचैमा रोकिएको बताउनुभयो । राष्ट्रिय खेलकुद परिषद, संघ सरकार तथा प्रदेश सरकार कतैबाट पनि यो आर्थिक वर्षमा बजेट नआएको भन्दै नगरपालिकाको बजेटले मात्रै खुल्ला मञ्च निर्माणलाई पूर्णता दिन कठिनाई भएको बताउनुभयो ।
जेसिजकपले विद्यालय स्तरमा रहेका खेलाडीहरुको प्रतिभा प्रष्फुटनका लागि राम्रो अवसर प्रदान गर्दै आएकाले यसलाई निरन्तरता दिन समेत नगर प्रमुख केसीले आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, म्याग्दी जेसिजका संस्थापक अध्यक्ष तथा बेनी नगरपालिका वडा नम्वर ७ का अध्यक्ष रमेश कुमार श्रेष्ठले खेलाडीहरुलाई अनुशासन पूर्वक खेल प्रदर्शन गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा रेफ्रिको तर्फबाट निशान गुरुङ र खेलाडीको तर्फबाट प्रकाश माविका टिम क्याप्टेन विनोद तामाङले अनुशासन र मर्यादापूर्वक खेल खेलाउने र खेल्ने सपथ ग्रहण गर्नुभएको थियो ।
प्रतियोगितामा जिल्लाका २२ वटा विद्यालयको सहभागिता रहेको छ । २० गतेदेखि २४ गते सम्म प्रतियोगिता संचालन हुनेछ । कार्यक्रममा नेपाल जेसिजको प्रकरण अन्तर्गत केही समय अघि बेनीमा सम्पन्न ‘एउटै परिवार एउटै समुह र एउटै लक्ष’ विषयक निवन्ध लेखन प्रतियोगितामा विजेताहुनेहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा प्रथम हुने जामुनाखर्क माविका विनिता सुवेदी, द्वितिय हुने न्यू वेष्ट पोइन्ट आवासीय माविका अनुषा रोका र तृतिय हुने लिटल गार्डेन एकेडेमीका सुजता खत्रीलाई नगद सहित प्रमाणपत्रले पुरस्कृति गरिएको थियो । कार्यक्रम शाखा अध्यक्ष सुमन बानियाँको अध्यक्षता, कार्यकारीणी उपाध्यक्ष विनोद घर्तिको स्वागत र महासचिव कुमार बानियाँको संचालनमा सम्पन्न भएको थियो ।
‘फुटबलको विकास हाम्रो ध्येयः नव प्रतिभाको प्रष्फुटन मुल उद्देश्य’ भन्ने मुल नारा रहेको २१ औँ संस्करणको जेसिज कपको टाईटल स्पोन्सर राम–बिमला फाउन्डेसन बेनी रहेको छ भने सहप्रयोजन मिन बहादुर विश्वकर्मा स्मृति कोष बेनीले गरेको छ ।
राम–बिमला फाउन्डेसन जिल्ला स्तरीय अन्तरमावि जेसिज कप फुटबल प्रतियागितामा विजेताले जेसिजकप रनिङ, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २ सय २२ र उपविजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ३२ हजार २ सय ३२ रुपैयाँ पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका मूल संयोजक म्याग्दी जेसिजका कार्यकारीणी उपाध्यक्ष विनोद घर्तिले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडि धमानसिंह अवार्ड, सर्वाधिक गालेकर्ता लक्ष्मी पुतली अवार्ड, उत्कृष्ट गालेरक्षक इन्द्र अवार्ड, उत्कृष्ट डिफेन्डर सरस्वती अवार्ड, उत्कृष्ट स्ट्राईकर रामजी अवार्ड, उत्कृष्ट मिडफिल्डर लालिगुराँस अवार्ड, राईजिङ प्लेयर धन अवार्ड, उत्कृष्ट कोच कृष्णप्रसाद एककुमारी अवार्ड, अनुशासित टिम झलक खगेश्वरी अवार्ड नगद रु २ हजार ५ सय र ट्रफिको व्यवस्था गरिएको छ । साथै सेमि फाईनलिष्ट दुई टिमलाई नगद रु ५÷५ हजार र प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कार पनि प्रदान गरिने छ ।
वर्षेनी बेनीको खुल्ला मञ्चमा संचालन हुने जेसिजकपले जिल्लामा विश्वकपकै झल्को मेटाउने गर्दछ भने विद्यालयको प्रतिष्ठा संग पनि जोडिएको छ । जेसिजकपको उपाधि जित्नकै लागि विद्यालयहरुले खेलकुद शिक्षकको समेत व्यवस्था गरि निरन्तर अभ्यास गराउँदै आएको पाइन्छ ।