म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ९ घतान कोसेपानीमा वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गरिने भएको छ ।
यही कात्तिक २३ गतेदेखि २८ गते सम्म कोसेपानी युवा क्लबले उक्त प्रतियोगिता आयोजन गर्न लागेको हो ।
वडाको आर्थिक सहयोग र समन्वयमा हुन लागेको प्रथम वडाध्यक्ष कप एवम् विविध सांस्कृतिक कार्यक्रम वडास्तरीय भलिबल, वडास्तरीय प्रौढ भलिबल र खुला नृत्य प्रतियोगिता आयोजना हुने खेलकुद संयोजक रिजन खत्रीले जानकारी दिनुभयो ।
वडा स्तरीय भलिबल कपको विजेताले ७७ हजार ७७७ रुपैयाँ नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ४४ हजार ४४४ रुपैयाँ नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।
प्रौढ भलिबलका विजेताले ४० हजार ४४४ रुपैयाँ नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार ५५५ रुपैयाँ नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने क्लब सचिव बिमल थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार खुल्ला नृत्य प्रतियोगितामा विजयी हुने कलाकारले ६ हजार रुपैयाँ नगद सहित प्रमाण पत्र र उपविजेताले ३ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । खेल अवधिभरबाट उत्कृष्ट खेलाडी, सेटर, ब्लकर, डिफेन्डर र स्पाइकर छनोट गरी सम्मान गरिने भएको छ ।
वडामा रहेका क्लबहरु मध्ये छलफलबाट गरी प्रस्ताव माग गर्दा कोसेपानी युवा क्लब छनोट भएको वडा अध्यक्ष चक्र केसीले बताउनुभयो । वडा भित्र ४ वटा क्लब रहेका छन् ।
खेलकुद शिर्षकमा विनियोजन भएको बजेटबाट पहिलो पटक वडा अध्यक्ष कपको अवधारणा लिएर प्रतियोगिता आयोजना गरेको केसीको भनाई छ । वडाको एक लाख पचास हजार बजेट वडाले क्लबलाई प्रदान गर्ने छ भने बाँकी खर्च क्लबले नै व्यवस्थापन गर्ने वडाले जनाएको छ ।
कात्तिक २३ गतेबाट संचालन हुने प्रतियोगिताको तयारी तिब्र बनाईएको क्लब अध्यक्ष दिपक कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार सांस्कृतिक कार्यक्रममा राष्ट्रिय संगै स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने छ ।