प्रकृतिको एक अनुपम उपहारः बेलढुङ्गा

म्याग्दी । पाकृतिक छटाले भरिपूर्ण छ बेलढुङ्गा । नजिकै हेर्दा हरियाली जंगल सहितका पहाड । उत्तरतर्फ आँखै अगाडी टलक्कै टल्किएका दजनौ हिमालहरु, चारैतिर आँखा घुमाउदा म्याग्दी, बाग्लुङ्गका अधिकाँश ग्रामिण वस्तीहरु तथा पर्वत र कास्की जिल्लाको केहि भुभागहरु सहितका अग्ला अग्ला धुरीहरु । दुई आँखाकै दृष्टिले अघाउने गरि डाँडाकाँडा तथा हिमालहरु हेर्नका लागि जिल्ला सदरमुकाम बेनी बजार देखि नजिकैको पर्यटकीय स्थल हो बेलढुङ्गा ।

बेनी नगरपालिका ३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका ३ धम्जाको सीमा क्षेत्रमा पर्ने बेलढुङ्गा सुन्दर पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको छ । मुसुङ गाउँको शिरमा रहेको बेलढुङ्गामा चारैतिर घनाजंगल छ । बस्तिदेखि निकै उच्च स्थानमा रहेकाले शान्त छ बेलढुङ्गा । विभिन्न प्रजातिका चराचुरुङ्गीको कोकिल आवाज र चिसो सिरेटोको मन्द आवाज बाहेक अरु सुन्न पाईदैन त्यहाँ ।

जंगलको बीच भागमा चेप्टो बेल आकारको विशाल चट्टान छ । चट्टानको शिरसम्म पुग्न ढुङ्गा बिछ्याइएको चिटिक्कको पदमार्ग बनाईएको छ । यहाँबाट पूर्वी रुकुममा पर्ने चुरेन हिमाल देखि गोरखाको मनास्लु हिमश्रृङ्खलासम्मका एकदर्जन भन्दा बढी हिमालहरु अवलोकन गर्न सकिन्छ ।

समुद्री सतहदेखि २ हजार ६ सय १४ मिटरको उचाइमा रहेको बेलढुङ्गाबाट पूर्वी रुकुममा पर्ने चुरेन, म्याग्दीमा पर्ने गुर्जा, धवलागिरी प्रथम देखि फोर्थ सम्म, मानापाथी, निलगिरी साउथ, अन्नपूर्ण फस्ट र साउथ, वराह शिखर, तिलिचोपिक, माछापुछ्रे, गंगापूर्ण, लम्जुङ्ग हिमाल र मनास्लु हिमश्रृङ्खलाका आकर्षक दृश्यहरु अवलोकन गर्न सकिन्छ ।

विहान सवेरै देखिने उषाको लाली किरण सहितको सूर्योदयको दृश्यले यहाँ पुग्ने जो कसैको मन सजिलै लोभ्याईदिन सक्छ । जिल्ला सदरमुकाम बेनीबाट भकिम्लीको डोले तथा मुसुङ गाउँबाट करिव १ घण्टाको उकालो पैदल यात्रा पुग्न सकिन्छ बेलढुङ्गा । त्यस्तै डोलेबाट गाडीमा समेत बेलढुङ्गाको फेदी, देउराली सम्म पुग्न सकिने मोटरबाटो निर्माण गरिएको छ ।

बेनी नगरपालिका र बागलुङको काँठेखोला गाउँपालिका बेलढुङ्गालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माणमा जुटेका छन् । दुवै पालिकाले यहाँ पुग्ने सडक,पदमार्ग र बेलढुङ्गामा भ्यू प्वाइन्ट निर्माण गरेका छन् । बेलढुङ्गालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्ने योजना अघि सारेको बेनी नगरपालिका वडा नम्वर ३ भकिम्लीका वडा अध्यक्ष पदम पुनले बताउनुभयो । सदरमुकामबाट नजिकैको स्थानमा रहेको मनोरम पर्यटकीय स्थल भएकाले आवश्यक पूर्वाधार निर्माण भएमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई समेत आकर्षित गर्न सकिने अध्यक्ष पुनले बताउनुभयो ।

बेलढुङ्गालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने पहिलो कामको थालनी वडा नम्बर ३ भकिम्लीवासीहरुले गरेको उहाँको भनाई छ । हाल यो स्थानको विकासका लागि काठेखोला गाउँपालिका वडा नम्वर ३ र बेनपा ३ विच विभिन्न योजनाहरुको बारेमा छलफल समेत भईरहेको छ ।
उहाँका अनुसार बगलुङ तर्फको ओखले गाउँमा सामुदायिक घरबास छ । यता भकिम्लीको मुसुङ गाउँमा पनि होमस्टे बनाउने योजना रहेको छ । बेलढुङ्गाको बारेमा प्रचार प्रसार र पूर्वाधार समेत निर्माण भएपछि पछिल्लो समय बेनी र बागलुङ तर्फबाट आन्तरिक पर्यटकहरु आउन थालेको मुसुङका स्थानीयवासी पृथीप्रसाद पुनले बताउनुभयो ।

You can share this post!

महासंघ म्याग्दीद्वारा बेलढुंगा र स्वर्गाश्रममा पर्यटन प्रवर्धन कार्यक्रम

भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिममा १२९ जनाको मृत्यु

Related posts