आफू पक्षका नेतालाई निर्वाचन क्षेत्रमा जान प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी ओलीले आफू पक्षधरका नेताहरुलाई निर्वाचन क्षेत्रमा जान निर्देशन दिएका छन्। विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने आफू पक्षधरका सांसदहरुलाई ओलीले निर्वाचन क्षेत्रमा जान निर्देशन दिएका हुन्।
ताजा जनादेश लिनका लागि सरकारले निर्वाचनको मिति घोषणा गरेकाले निर्वाचन केन्द्रित हुन उनले भेलामा सहभागी भएका विघटित प्रतिनिधिसभाका सांसदहरुलाई निर्देशन दिएका हुन्। निर्वाचनमा माहौल सिर्जनाका निम्ति सरकारले आवश्यक सहयो गर्ने प्रतिवद्धता बैठकमा प्रधानमन्त्रीले व्यक्त गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए। ‘तपाईंहरु निर्वाचन क्षेत्रमा जानुस् । ताजा जनमत लिनका लागि कसैले पनि अवरोध गर्न सक्दैन कुनै समीकरणले अवरोध गरेको अवस्थामा त्यहाँ सरकारले आवश्यक सहयोग गर्छ निर्वाचनको माहौल सिर्जनका लागि सरकारले सहयोग गर्छ,’ प्रधानमन्त्रीको भनाइ उद्दृत गर्दै थापाले भने।
आफूलाई चौतर्फी घेराबन्दीमा पारेकाले संसद विघटनको कदम चाल्नुपरेको कुरा ओलीले बताएका छन्। ‘राष्ट्रपतिका संसद आव्हानका लागि समावेदन दर्ता नगरी अविश्वासको प्रस्ताव ल्याउने काम भयो मलाई घेराबन्दीमा पारियो त्यसैले यो अवस्था आएको हो,’ बैठकमा प्रधानमन्त्रीले भनेका थिए।
बैठकमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले पनि सम्बोधन गरेका थिए। बैठकमा उनले ओलीलाई बलियो बनाउनुपर्ने मत राखेका थिए। ‘मैले अध्यक्ष प्रचण्डलाई समीकरणमा लागेर पार्टीलाई विग्रहको बाटोमा नलग्न भनेको थिएँ उहाँ त्यसतर्फ अघि बढ्नुभएन अब हामीले अध्यक्ष ओलीलाई बलियो बनाउनका निम्ति सहयोग गर्नुपर्छ,’ भट्टको भनाइ उद्दृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने।
प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णयलाई अदालतले समेत बदर गर्न नसक्ने दाबी गरेका छन्।

You can share this post!

नेपाल नयाँ राजनीतिक कोर्षमा : जनताको नासो जनतालाई नै फिर्ता

'दाहालले पार्टी एकतामा सिन्को भाँचेनन्, सरकारलाई एकपछि अर्को गरी असहयोग गरे'

Related posts