म्याग्दी । जिल्लामा रहेका महिला संचारकर्मीहरुको संगठन सञ्चारिका समूह नेपाल जिल्ला शाखा म्याग्दीको नयाँ नेतृत्व चयन भएको छ । सदरमुकाम बेनीमा शनिबार सम्पन्न प्रथम अधिवेशनले देवी जिसीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनबाट सञ्चारिका समूहको उपाध्यक्षमा पवित्रा खत्री, सचिवमा विष्णु गौतम सापकोटा, सहसचिवमा कल्पना खड्का र कोषाध्यक्षमा मनु थापामगर चयन हुनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा सुनिता केसी, सुमित्रा थजाली, जानुका अधिकारी, तेजकुमारी बानियाँ, ज्ञानुकुमारी बानियाँ केसी, सुमित्रा क्षत्री खत्री, धनमाया श्रेष्ठ र स्वच्छा बानियाँ जिसी चयन हुनुभएको छ ।
अधिवेशनको अवसरमा सञ्चारिका समूहले म्याग्दी जिल्लामा पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै महिला पत्रकार रेखाकौशल रेग्मीलाई दोसल्ला ओढाएर नगद तीन हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।
अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले सञ्चारिकाले महिलाहरुको सवाललाई सञ्चारमाध्यमबाट प्राथमिकताका साथ बाहिर ल्याउनुपर्ने बताउनुभयो । उहाँले पत्रकार हरेक ठाउँमा पुग्नुपर्ने बताउँदै महिला पत्रकारहरुको क्षमता अभिवृद्धि र विकासका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।
बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले वर्तमान परिस्थितिमा देशको अर्थतन्त्रमा सुधार आउने गरी पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिला पत्रकारको उत्पादन र व्यवस्थापनमा सञ्चारिका समूह लाग्नुपर्ने बताउँदै नगरपालिकामार्फत आवश्यक सहयोग उपलब्ध हुने बताउनुभयो ।
बेनी नगरपालिकाका निवर्तमान नगर उपप्रमुख सन्जु बरुवाल, मालपोत अधिकृत साधनाकुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेल, सञ्चारिका समूह नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष विष्णु गौतम र सम्मानित व्यक्तित्व रेखाकौशल रेग्मीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम सञ्चारिका समूह म्याग्दीका अध्यक्ष देवी जिसीको अध्यक्षता, सचिव विष्णु गौतम सापकोटाको सञ्चालन र कार्यसमिति सदस्य सुमित्रा थजालीको स्वागतमा सम्पन्न भएको थियो । अधिवेशनको अवसरमा पत्रकार तथा सञ्चारकर्मी कृष्ण जिसीले समाचारमा नैतिकता र लैङ्गिक संवेदनशीलताको विषयमा आफ्नो प्रस्तुतीसहित सहजीकरण गर्नुभएको थियो ।