म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा शनिवारदेखि सुरु भएको दोस्रो दोभान कप, अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि जनप्रीय मावि दरवाङले जितेको छ । आईतवार भएको फाइनल खेलमा जनप्रियले न्यू वेष्ट प्वाइन्ट आवासीय माविलाई ४–२ गोल अन्तरले पराजित गरि उपाधि चुमेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा दुबै पक्षका खेलाडीले सुन्दर अवसरलाई गोलमा परिणत गर्न सकेनन् । निर्धारित समयमको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा जनप्रिय माविले ४ र वेष्ट प्वाइन्टले २ गोल गरेका थिए ।
पेनाल्टीमा जनप्रियकी गोलरक्षक अस्मिताले उत्कृष्ट बचाउ र गोल प्रहार गरेकी थिईन् । सेमिफाइनलको खेलमा समेत बेनी सामुदायिक माविलाई रोक्न अस्मिताको गोल निर्णायक भएको थियो । सेमिफाइनलमा जनप्रिय माविले बेनी सामुदायिक मावि र न्यु वेष्ट प्वाइन्ट माविले प्रकाश माविलाई रोक्दै फाइनलको यात्रा तय गरेका थिए ।
न्यू दोभान युथ क्लवले पूर्व अध्यक्ष स्वर्गिय अनन्त गिरीको स्मृतिमा आयोजित ’९ ए साइड’ फुटबल प्रतियोगिताका विजेता र उपविजेतालाई बेनी नगरपालीका मेयर सुरत केसीले प्रथम र द्धितिय पुरस्कार क्रमश ४५ हजार, २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी न्यु वेष्ट प्वाइन्टकी निकिता सिंह ठकुरी, सर्वाधिक गोलकर्ता प्रकाश माविकी प्राप्ती मगर, उत्कृष्ट गोलरक्षक जनप्रिय माविकी अस्मिता दर्जि घोषित हुनुभएको छ । उहाँहरुलाई ३ हजारका दरले नगद सहित ट्रफि प्रदान गरिएको छ । बेनी सामुदायिक माविलाई अनुशासित टिमको पुरस्कार स्वरुप ५ हजार नगद प्राप्त गरेको छ ।
उत्कृष्ट खेलाडि र अनुशासित टिमलाई बेनी नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, जिसस समन्वय अधिकारी राजेन्द्रप्रसाद अधिकारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगिताको समापनमा बोल्दै प्रमुख अतिथि बेनी नगर प्रमुख सुरत केसीले खेलकुदमा प्रयाप्त बजेट विनियोजन नहुदाँ खुल्लामञ्चको विस्तारमा ढिलाई भएको बताउनुभयो । आयोजक दोभान यूथ क्लवका अध्यक्ष उपेन्द्र गिरीले छात्राहरुलाई फुटबल खेलप्रती आकर्षित गर्ने उद्देश्यले खेल आयोजना गरेको बताउनुभयो । प्रतियोगितामा १० विद्यालयले सहभागिता जनाएका थिए ।