म्याग्दी । बेनी नगरपालिकाको वडा नम्बर–७ मा पर्ने कुरीलाखर्कको ओढारमा बस्दै आएका व्यक्तिको बुधबार उद्दार गरिएको छ । बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओढारमा दुंगेयुगको जस्तै गरेर बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनीका ५० वर्षीय राहुल बिकलाई उद्दार गरिएको हो । बेनी नगरपालिकाको उपप्रमुख ज्योती लामिछानेले विकलाई ओढारबाट उद्दार गरेर मानव सेवा आश्रमको बागलुङ शाखामा लगिएको जानकारी दिनुभयो ।
शारिरिक कमजोरीका कारण श्रम गर्न नसक्ने र मागेर ल्याएको खानेकुरा पकाएर खाने गरेका राहुललाई नगर उपप्रमुख लामीछाने र नगर प्रहरी प्रमुख शंकर पौडेलको टोलीले उद्दार गर्नुभएको थियो । छोराहरुको मृत्यु, श्रीमतिले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओढारमा बस्न बाध्य हुनुभएको थियो ।
सो ओढार बेनी बजार देखि करिब एक किलोमिटर नजिकको दुरीमा छ । सडकको कान्लामाथिको सानो ओढारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका राहुलको शरिर चिसोले सुन्निएको छ ।
राहुल बस्दै आएको ओढारमा दिउँसोमा घाम लागेपनि रातमा चिसो हावा र पानीको बाछिता सिधै छिर्छ । मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्ने राहुललाई रातमा चितुवाको डर थियो ।