राष्ट्रिय जनसाँस्कृतिक महासंघ गण्डकी प्रदेश समितिले शनिबार पोखरामा खुला कविता प्रतियोगितासम्पन्न गरेको छ । प्रतियोगितामा शर्मिला कार्की प्रथम, संयोग बस्याल द्वितीय, रमा खतिवडा तृतीय, रोशन तिमिल्सिना सान्त्वना तथा आर्या त्रिपाठीले प्रोत्साहन पुरस्कार पाएका छन् ।
राष्ट्रिय जनसाँस्कृतिक महासंघका संस्थापक केन्द्रीय सदस्य प्राडा रविलाल अधिकारीको ७९ औं जन्म जयन्तीको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले साहित्य, कला र संस्कृतिमा राजनीतिक नेतृत्वको ध्यान जान नसकेको बताउनुभयो । कवि रमेश श्रेष्ठले कवितामा राजनीतिक चेतनालाई पनि समावेश गर्न आवश्यक हुने बताउनुभयो ।
राष्ट्रिय जनसाँस्कृतिक महासंघ केन्द्रीय उपमहासचिव मनकुमार श्रेष्ठले प्राडा रविलालको जीवनबाट सरलता र निरन्तरताको पाठ सिक्न सकिने उल्लेख गर्नुभयो । कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, समालोचक डा यदुनन्दन उपाध्याय र साहित्यकार अधिकारीका छोरा प्रमोद अधिकारीले प्राडा रविलालको जीवनका विविध पक्षबारे बोलेका थिए ।
महासंघ गण्डकी प्रदेश कमिटी अध्यक्ष सुवास मल्लले प्राडा अधिकारी गण्डकी प्रदेशमा महासंघको एक जनामात्र संस्थापक भएको जनाउँदै उहाँको जयन्ती हरेक वर्ष कार्यक्रम गरी मनाइने बताउनुभयो ।
३८ कवि सहभागी भएको प्रतियोगिताको अन्तिम चरणका लागि १५ वटा कविता छनौट भएका थिए । प्रतियोगिताका निर्णायकमा कवि रमेश श्रेष्ठ, समालोचक डा यदुनन्दन उपाध्याय र कवि लक्ष्मी थापा रहनुभएको थियो । कार्यक्रममा महासंघ कास्की अध्यक्ष शिवहरि ढुंगाना, महासंघ गण्डकी प्रदेश कमिटी महासचिव छवि सुवेदीले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो ।