म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति म्याग्दीले विश्व संगीत दिवसको अवसरमा विद्यार्थीहरुलाई वाद्यवादन तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।
बेनी नगरपालिका ५ बगुवाखोलमा रहेको बालजागृति आधारभूत विद्यालयमा अध्ययन गर्ने वौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई मादल लगायतका बाद्यवादनका सामग्री, कपि, कलम लगायतका शैक्षिक सामग्री तथा फलफुल समेत हस्तान्तरण गरेको हो ।
बुधवार दिउँसो विद्यालय प्राङ्गणनमा आयोजित कार्यक्रममा प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुवि जिसी, प्रतिष्ठान गण्डकी प्रदेश समितिका सदस्य अमित विश्वकर्मा, पुर्व सदस्य नकुल ढकालले विद्यालयका प्रधानाध्यापक धन बहादुर क्षेत्रीलाई सो सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका सदस्य बिश्वकर्माले संगीतले मानिसलाई स्वस्थ्य र सकरात्मक चिन्तन तर्फ उन्मुख गराउने बताउनुभयो ।
उहाँले विश्व संगीत दिवसको अवसरमा रचनात्मक कार्य गरेकोमा प्रतिष्ठान म्याग्दीलाई धन्यवाद व्यक्त गर्दै यस्ता खालका गतिविधिहरुलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठान म्याग्दीका अध्यक्ष जिसीले वौद्धिक अपांगता भएका विद्यार्थीहरु संग जोडिएर दिवस मनाएको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई बेला बेलामा सांगीतिक मनोरञ्जन पनि प्रदान गर्न आवश्यक रहेकाले त्यसका लागि सहयोग गर्न प्रतिष्ठान सधै तयार रहेको बताउनुभयो ।
विद्यालयका प्रअ क्षत्रीले महत्वपूर्ण सहयोग गरेकोमा प्रतिष्ठान म्याग्दीलाई आभार प्रकट गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरु लोक गीत गायर तथा नाचेर रमाएका थिए ।
कार्यक्रम प्रतिष्ठान म्याग्दीका अध्यक्ष जिसीको अध्यक्षता, प्रथम उपाध्यक्ष एकराज चापागाईको स्वागत र सचिव विजुन खत्रीको संचालनमा सम्पन्न भएको थियो ।