सडक विस्तारको क्रममा पाइप फुटेपछि बेनीमा एकहप्तादेखि खानेपानीको समस्या

म्याग्दी । म्याग्दी सदसमुकाम बेनीमा ७ दिनदेखि खानेपानीको हाहाकार भएको छ । बेनी–जोमसोम सडकको जलेश्वर–गलेश्वर खण्डको सडक विस्तारका क्रममा डोजरले पाइपलाइन फुटाइदिएपछि बेनीमा खानेपानी आपूर्ति अवरुद्ध भएको हो ।

विगतमा पटकपटक फुटेको पाइप तत्कालै मर्मत गर्ने बेनी–जोमसोम सडक आयोजनासँग भएको सहमति कार्यान्वयन नहुँदा सधै खानेपानीको आपूर्तीमा अवरोध हुने गरेको छ ।

निर्माण कम्पनीले समन्वय नगरी जथाभावी डोजर चलाउँदा पाइप भाँचिने र फुटेर पानी आपूर्ती अवरुद्ध भएको बेनी खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष रमेश गिरीले बताउनुभयो । सडक विस्तारमा हरेक महिनाजसो खानेपानीको पाइपमा क्षती हुने गरेको छ ।

पानीको पाइप फुटेपछि एघार सय घरधुरीलाई खानेपानी समस्या भएको छ । ‘सहमति कार्यान्वयनमा ठेकेदारले लापरवाही गरेको छ, यो अति भएको छ, मर्मत गरेलगत्तै फेरी डोजरले पाइप फुटाएर हैरान भएको छ,’ उपाध्यक्ष गिरीले भन्नुभयो ।

समन्वय र बैकल्पिक व्यवस्था नगरी सडक विस्तार गर्दा बेनीमा खानेपानीको हाहाकार भएपछि खाना पकाउन र शौचालय जानका लागि समेत जार र बोत्तलको पानी किन्नु परेको बेनीको क्याम्पसचोक निवासी दिल विश्वकर्माले बताउनुभयो ।

बर्खायाममा बाढीपहिरो र हिउँदमा सडक विस्तारको क्रममा खानेपानी अवरुद्ध हुने गरेको छ । निर्माण ब्यवसायीले सडक निर्माणको क्रममा पाइप टुटफुट भएर खानेपानी आपूर्ति अवरोध भएको दुई घण्टाभित्र मर्मत गरी सुचारु गर्ने, त्यस्तै सडक निर्माण खण्डमा खानेपानी स्थायी जीआई पाइपलाइन ब्यवस्थापनका लागि बेनी–जोमसोम–कोरला सडक योजनालाई अनुरोध गर्ने सहमति जिल्ला प्रशासन कार्यलयमा भए पनि ठेकेदारले कार्यान्वयन गरेको छैन । खानेपानी नआउँदा बजारमा होटल ब्यवसायी, विद्यार्थी, कर्मचारीलगायतलाई पिउने पानी समस्या परेको छ ।

यता विगतमा बेनीमा खानेपानी सहज बनाउन कालिपुल न्युरोडलगायतका क्षेत्रमा दमकलबाट पानी वितरण गर्ने गरिएपनि यसपटक सुविधा नभएको भन्दै बजारबासीले गुनासो गरेका छन् । पाइप फुटेको ठाउँमा तत्काल मर्मत गरि खानेपानी सुचारु गराउनका लागि विहिबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, प्रहरी नायव उपरिक्षक मदन कुँवर, बेनी नगरपालिकाका प्रवक्ता रमेश कुमार श्रेष्ठ, बेनी नगर प्रहरी प्रमुख शंकर पौडेल, बेनी खानेपानी उपभोक्ता संस्थाका पदाधिकारी लगायतको टोलीले स्थलगत अनुगमन गरेर सडक निर्माण कम्पनीलाई निर्देशन समेत दिएको थियो ।

You can share this post!

कागेश्वरी मनोहराको डाँछीमा बन्ने भयो भलिबल कभर्डहल

गायक किरण पुनको ‘मेरो आँखामा तिमी’ ले संगीतप्रेमीहरुको मन जित्दै

Related posts