मौवाफाँटका शिब केसीद्धारा रघुगंगाका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट निवासी समाजसेवी शिब केसीले कोरोना रोकथाम र नियन्त्रण तथा उपचारमा सघाउन स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गर्नुभएको छ । गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरुको लागि केसीले रु ७० हजार लागतमा १७ थान पल्स अक्सीमिटर र १५ सय थान मास्क सहयोग गर्नुभएको हो ।
जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिने जोखिम बढ्दै गएको अबस्थामा स्वास्थ्य संस्थामा आउने विरामीको हातको धडकन र अक्सीजनको मात्रा थाहा पाउने पल्स अक्सिमिटर सहितको स्वास्थ्य सामाग्री सहयोग गरेको सहयोगदाता केसीले बताउनुभयो । ‘‘ कोरोना संक्रमितमा स्वासप्रश्वास सम्बन्धि बढी समस्या आउने गर्दो रहेछ, कोरोनाको संक्रमण पुष्टि भएका विरामीको अबस्था पहिचान गर्न ढिलाई हुँदा उनीहरुको उपचार जटिल मोडमा जान सक्छ, विरामीलाई थप उपचार गर्नबाट बञ्चित हुने जोखिम न्यूनीकरणमा अक्सीमिटरले सघाउँने विश्वासले सहयोग गरेको हुँ’–केसीले भन्नुभयो ।

काठमाण्डौमा रेष्टुरेण्ट व्यवसाय समेत गर्दै आउनुभएका नेपाली काँग्रेसका युवा नेता समेत रहनुभएका केसीले गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीलाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो । कोरोना रोकथाम र नियन्त्रण अभियानसंगै अब कोरोना व्यवस्थापनको तयारीमा जुटिरहेको सन्दर्भमा समाजसेवी केसी मार्फत प्राप्त स्वास्थ्य सुरक्षाका सामाग्रीले ठुलो सहयोग मिलेको बताउँदै गाउँपालिका अध्यक्ष भण्डारीले आभार प्रकट गर्नुभयो ।
केसीले उपलब्ध गराउनुभएको स्वास्थ्य सुरक्षाका सामाग्रीलाई गाउँपालिकाभित्र रहेका ८ स्वास्थ्य चौकी, ७ वटा सामुदायिक स्वास्थ्य इकाई र एक आयुर्वेदीक स्वास्थ्य केन्द्रमा वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक टिका शाहीले जानकारी दिनुभयो ।

You can share this post!

ज्यानको बाजि थापेर सडक निमार्णकाे काममा जुटे स्थानिय युवा

कोरोना संकटः शिक्षकले तलब पाएनन् तर विद्यार्थीले भने असार सम्मकै शुल्क तिर्ने

Related posts