म्याग्दीमा पहिलो पटक नगर प्रहरी भर्ना

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले पहिलो पटक नगर प्रहरी भर्ना गरेको छ । नगर प्रहरी हवल्दार सहित ३ जना नगर प्रहरीलाई विहिबार दज्र्यानी चिह्न प्रदान गरिएको छ । बेनी नगरपालिकाले नगर प्रहरी सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७९ अनुसार नगर प्रहरी भर्ना गरेको हो ।

बेनी नगरपालिकाका मेयर सुरत केसीले नगर प्रहरीका हवल्दार शंकर पौडेल र सिपाहीद्वय रेजिना विक तथा अभिषेक मिजारलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । गत शुक्रवार नियुक्ति गरिएका तीनजना नगर प्रहरीलाई विहिवारदेखि दज्र्यानी चिह्न प्रदान गरी काममा परिचालन गरिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो ।

नगर प्रहरी भर्नाका लागि नगरपालिकाले आव्हान गरेको दरखास्त अनुसार प्रहरी हवल्दारमा तीनजना र सिपाहीमा १० जनाको आवेदन परेको थियो । लिखित परीक्षा तथा अन्तर्वार्ता, स्वास्थ्य परीक्षण लगायतको आधारमा तीन जनालाई छनौट गरिएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । छ वटा पालिका रहेको म्याग्दीमा बेनी नगरपालिकाले पहिलोपटक नगर प्रहरी भर्ना गरेको हो ।

आधारभूत तालिम पाएपछि नगर प्रहरीहरु नगरपालिकाको औपचारिक काममा खटिएका छन् । उनीहरुले कार्यविधि अनुसार सेवासुविधा पाउने छन् । नगर कार्यपालिकाको निर्णय तथा आदेश र कार्यविधिमा उल्लेख भए बमोजिम नगर प्रहरीलाई विभिन्न ३४ प्रकारका काम गर्ने अधिकारहरु दिइएको छ ।

सार्वजनिक सम्पत्तिको संरक्षण, बजार व्यवस्थापन, राजस्व संकलन, न्यायिक समितिको काम कारवाहीमा सघाउने तथा विपदजन्य गतिविधि लगायतमा नगर प्रहरीको टोली परिचालन हुने बेनी नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

संविधान र स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहलाई आफ्नै प्रहरी भर्ना गर्न पाउने अधिकार उल्लेख गरिएको छ ।

You can share this post!

जलजलामा नमूना युवा गाउँसभा अभ्यास

राष्ट्रपति भण्डारी पर्वतको कालञ्जरमा आउने

Related posts