आजदेखि म्याग्दीका वडास्तरमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन

म्याग्दी । आज आइतबार देखि म्याग्दीमा वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बेनी नगरपालिकाबाट अभियान सुरु गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बेनी नगरपालिकाको १० वटै वडामा एकै पटक परिचयपत्र दर्ताका लागि घुम्ति शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।

‘एक वटा वडामा दुई वटा स्टेशन हुन्छ,’ उहाँले भन्नुभयो ‘एक वटा स्टेशनमा कम्तिमा १५ दिन टोलीले जैविक र व्यक्तिगत विवरण दर्ता गर्ने समय तालिका बनेको छ ।’ विभागले विभिन्न १३ किमिसमका सामग्री सहित २० जना जनशक्तिलाई घुम्ती टोलीका रुपमा म्याग्दीमा पठाएको छ ।

सक्कल नागरिकता, विवाहितको हकमा सक्कल विवाहदर्ता वा नाता खुल्ले सक्कल सरकारी परिचयपत्र सहित सस्टेशनमा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । हालसम्म जिल्ला प्रशासन कार्यालयमा मात्र राष्ट्रिय परिचयपत्र दर्ता हुदै आएको छ ।

हालसम्म नेपालका ४५ जिल्लामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सकिएको छ । १६ वटा जिल्लामा अभियान सञ्चालन भइरहेको छ । एक वटा वडामा कम्तीमा १५ दिन घुम्ति टोली रहनेछन् ।

एक करोड सात लाख जना नागरिकको व्यक्तिगत र जैविक विवरण दर्ता भइसकेको निर्देशक पाठकले बताउनुभयो । स्थानीय तहसँग समन्वय गरेर घुम्ति टोली परिचालनको समयतालिका बनाइएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताउनुभयो ।

बेनी नगरपालिकापछि क्रमश अन्य पालिकाको वडाहरुमा पनि टोली पुग्नेछन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा राष्ट्रिय परिचयपत्र दर्ताको लागि अनलाइन टाइम कार्ड लागू गरिएको र १ वटा स्टेशन थपेर सेवालाई छिटो तथा सहज बनाउन पहल गरेको प्रजिअ पौडेलले बताउनुभयो ।

सरकारले नेपाली नागरिकको वैयक्तिक तथा जैविक विवरण सहितको परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्याङ्क तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने सो तथ्याङ्कका आधारमा राष्ट्रिय परिचय नं सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्यले परिचयपत्र दर्ता गर्न घुम्ति टोली परिचालन गरेको हो ।

उक्त परिचयपत्रमा व्यक्तिगत विवरणहरू नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति पत्नीको नाम, बाजेको नाम औँला छाप व्यक्तिगत विवरण समावेश गरिएको हुन्छ । सोह्र वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले नेपाली उक्त परिचयपत्र लिने सक्ने व्यवस्था रहेको छ ।

व्यक्तिका वैयक्तिक र जैविक सूचनालार्ई आधिकारिक रूपमा सङ्कलन गरी प्रत्येक नागरिकलार्ई एकअर्कासँग मेल नखाने परिचय नं दिई बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरण गर्ने उद्देश्य रहेको छ । नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र राष्ट्रिय परिचयपत्र हो ।

You can share this post!

मन्त्री जुग्जालीलाई विभिन्न संघ संस्थाको सम्मान र बधाई

अन्नपूर्णमा तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभा माविले जित्यो

Related posts