म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीस्थित लोकदिप बचत तथा तथा ऋण सहकारी संस्था (साकोस) ले चार वर्षिय रणनीतिक योजना तयार गरेको छ ।
जिल्लाको पर्यटकीयस्थल टोड्केमा शनिबार र आइतबार गरी दुईदिनसम्म आयोजित रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठीले आगामी ४ वर्षको लागि लक्ष्य,रणनीति, बजेट र योजना निर्माण कार्य सम्पन्न गरेको हो ।
आगामी चारवर्षमा संस्थालाई कुन स्थानमा पुर्याउने र के कस्ता काम गर्ने भन्ने विषयमा राष्ट्रियसहकारी बैंकका तालिम शाखाका प्रशिक्षक नवकुमार अधिकारीले सहजीकरण गर्नुभएको थियो ।
गोष्ठीमा संस्थालाई आवश्यक पर्ने थप नयाँ कार्यविधि, नियमावली तथा सेयर सदस्य अनुकुलका योजना, संस्थाको सदस्यता विस्तार, सेयर बृद्धि, बचत बृद्धि, सदस्यहरुमा सहकारी तालिम र सहकारी शिक्षा लगायत विविध विषयमा केन्द्रित भएर रणनीति बनाइएको सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो ।
संस्थाले आधुनिक प्रविधिको प्रयोगलाई जोड दिदैं मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवालाई यसै आर्थिकबर्षदेखि सुरुवात गर्ने प्रतिबद्धता जनाएको छ । गोष्ठीमा संस्थाका पदाधिकारी, लेखा समिति, सबै उपसमिति र कर्मचारी गरी २१ जनाको सहभागी रहेको थियो ।
राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा सञ्चालन गरिएको गोष्ठीको अध्यक्षता संस्थाका अध्यक्ष हरिकृष्ण गौतम, र समापन कार्यक्रमको अवसरमा उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठले स्वागत तथा सञ्चालन सचिव ओमप्रसाद शर्माले गर्नुभएको थियो । संस्थाले ‘सहज पहुँच सहित बिश्वनीय सहकारी’ भन्ने भिजन पारित गरेको छ ।
लोकदिपले राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)मा आवद्ध रहेर कारोबार गरिरहेको छ ।