म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा व्यवसाय दर्ता शिविर सम्पन्न भएको छ । धवलागिरि गाउँपालिका र उद्योग बाणिज्य संघ धवलागिरि इकाई समितिको समन्वयमा पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले सोमबार र मंगलवार गरि दुई दिनसम्म शिविर संचालन गरेको हो ।
दुई दिने व्यवसाय दर्ता शिविरमा विभिन्न १५ वटा व्यवसायिक फर्महरु दर्ता भएका छन् । शिविरमा उद्योगतर्फ कृषि र होटल गरि ५ वटा र बाणिज्यतर्फ किराना पसल र फेन्सी गरि १० वटा फर्महरु दर्ता भएको कार्यालयका कम्प्युटर सहायक सन्तोष ढुंगानाले जानकारी दिनुभयो ।
धवलागिरि गाउँपालिका भित्र संचालन भएका व्यवसायलाई लक्षित गरि संचालन गरिएको शिविरमा मुना, मुदी, लुलाङ, खिवाङ, धारापानी, ताकम र हिलापोखरीका व्यवसायीहरुले आफ्ना उद्योग तथा व्यवसाय दर्ता गराएका म्याग्दी उद्योग बाणिज्य संघ धवलागिरी गाउँपालिका ईकाई समितिका अध्यक्ष तेजेन्द्र थापाले बताउनुभयो ।
कार्यालय प्रमुख पोषनाथ शर्मा, कम्प्युटर सहायक ढुंगाना र सहयोगी कर्मचारी भिमकुमारी छन्त्याल लगायतको टोलीले शिविरमा व्यवसाय दर्ता सेवा प्रदान गर्नुभएको थियो । कार्यालयको बार्षिक स्विकृत कार्यक्रम अन्तरगत धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा पहिलो पटक शिविर मार्फत व्यवसाय दर्ताको सेवा प्रवाह गरिएको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।
आधिकारिक रुपमा सरकारी निकायमा दर्ता नभई संचालन भएका व्यवसायलाई आधिकारिकता प्रदान गरि राज्यको कर प्रणालीमा आवद्ध गराउने उद्देश्य अनुरुप ग्रामिणबस्तीमा संचालित व्यवसायलाई लक्षित गरि दर्ता शिविर आयोजना गरिएको कार्यालय प्रमुख शर्माको भनाई छ ।
शिविरले स्थानीय स्तरमा सञ्चालित साना पसल र फर्महरुलाई दर्ता गरि आधिकारिक बनाउन सहयोग पुगको ईकाई समितिका अध्यक्ष थापाले बताउनुभयो । गाउँमै पसल दर्ता गर्न पाउँदा सदरमुकाम सम्म पुग्ने झण्झट हटेको र समय र खर्चको समेत बचत भएको विन्दु किराना पसल धवलागिरी गाउँपालिका ३ मुनाका संचालक विन्दु सिर्पालीले बताउनुभयो ।