पत्रकार महासंघकोे सातौँ साधारणसभाःअतिक्रमित संरचना हटाउँछौ, नगर प्रमुख केसी

म्याग्दी । नेपाल पत्रकार म्याग्दी शाखाको सातौँ साधारणसभा सम्पन्न भएको छ । शनिवार बेनी नगरपालिका ६ डम्मरामा आयोजित साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पत्रकारीताले समाज परिवर्तनमा ठुलो योगदान पु¥याउन सक्ने बताउनुभयो ।

उहाँले जिल्लाको शिक्षा, कृषि, पर्यटन, जलविद्युत, विकास निर्माण लगायतका क्षेत्रको उजागरका लागि म्याग्दीका पत्रकारहरु र संचार माध्यमको योगदानको चर्चा गर्नुभयो । ‘अनियमिततामा खवरदारी गर्नु त भइनै हाल्यो, परोपकारी पत्रकारिताले कसैको जीवन सहज बनाउन मद्दत पुगेको छ, यसलाई निरन्तरता दिन म सवै पत्रकार साथीहरुलाई आग्रह गर्दछु’, प्रमुख केसीले भन्नुभयो ।

प्रमुख केसीले बेनी नगरपालिकाभित्र अतिक्रमणमा परेका सार्वजनिक जग्गाहरु खाली गर्ने प्रक्रियाको थालनी गरिएको बताउनुभएको छ । उहाँले नगरपालिकाको जग्गामा संरचना बनाई व्यापार व्यवसाय संचालन गरेका तथा बसोबास गरिरहेकाहरुलाई खाली गर्न पत्रचार गरेको र सार्वजनिक रुपमा सूचना पनि जारी गरेको बताउँदै अटेर गरे अव डोजर नै चलाउने योजना बनाएको पनि उल्लेख गर्नुभयो । उहाँले नेपाल पत्रकार महासंघलाई भवन बनाउनकालागि नगरपालिकाले ३ बर्ष अघि दिएको जग्गामा उत्पन्न विवादलाई अव छिट्टै सुल्झाउने समेत बताउनुभयो ।

कार्यक्रममा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र मालिका गाउँ पालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजाले पत्रकारिता सत्य, तथ्य, र निष्पक्ष हुनु पर्ने भन्दै जिल्लाको सुशासन, विकास र जनताको समस्याहरुलाई समेत उजागर गर्ने गरि समाचार सम्प्रेषण गर्न अनुरोध गर्नुभयो । सभ्य र सुसुचित समाज निर्माणका लागि रु स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै पालिकाको आन्तरिक आम्दानी वृद्धि गर्ने कार्यहरुमा जिल्लाका पत्रकार तथा सञ्चार माध्यमहरु संग सहकार्य गर्ने पनि बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा र जिल्ला हुलाक कार्यालयका प्रमुख अमृत सुवेदीले प्रेस जगतले सरकार र जनताविचको पुलको काम गर्ने बताउनुभयो । अन्याय, अत्याचार र अनियमितताहरुमा खवरदारी गर्दै जिल्लाका पत्रकारहरुले चलाएको कलमले गलत काम गर्नेहरुलाई सत्मार्गमा लाग्न प्रेरित गरेको समेत बताउनुभयो ।

नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले बेनी नगरपालिका र महासंघ विच भएको सम्झौता अनुसार महासंघले ३ आर्थिक बर्षको भाडा तिरेको तर उक्त जग्गा उपभोग गर्न नपाएको प्रति गुनासो गर्नुभयो । नगरपालिकाले कि त जग्गा दिन्न भनोस, कि त जग्गा सहज उपलब्ध गराएर हामीलाई भवन बनाउने वातावरण सृजना गरिदियोस, अध्यक्ष पौडेलले भन्नुभयो, “नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयले समेत आलटाल गरिदिदा भवन निर्माणका लागि प्राप्त भएका श्रोतहरु समेत गुमेको छ” ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, गण्डकी प्रदेश सदस्य तारा प्रसाद शर्मा, पूर्व जिल्ला अध्यक्ष तारानाथ शर्मा, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवाल, गैर सरकारी संस्था महासंघका अध्यक्ष दिपक पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शाखा सचिव सन्तोष गौतमले प्रगति र कोषाध्यक्ष अमित विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदनलाई बन्द सत्रमा छलफल गरि पारित गरिएको छ । कार्यक्रम शाखा अध्यक्ष पौडेलको अध्यक्षता, नगर प्रमुख केसीको प्रमुख आतिथ्यता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव सन्तोष गौतमको संचालनमा सम्पन्न भएको थियो ।

यसैगरि म्याग्दीका विकास आयोजनाहरुमा भएको ढिलासुस्ती हटाउन सरोकारवालाहरुको ध्यानाकर्षण, पछै क्षेत्रलाई केन्द्रित गरेर पर्यटन विकासमा हातेमालो गर्न र स्थानीय तहको संचार सम्वन्धी कानुनलाई पत्रकार मैत्री बनाउन आव्हान गर्ने लगायत पाँच बुँदे विशेष प्रस्तावपनि साधारणसभाले पारित गरेको उपाध्यक्ष गौतमले बताउनुभयो ।

You can share this post!

जलविद्युत र पर्यटनको क्षेत्रमा म्याग्दीबासीसंग सहकार्य गछौँः वरिष्ठ उपाध्यक्ष ढकाल

मंगलाको लरेनीमा सचेतनामूलक कार्यक्रमः लैङ्गिक हिंसा अन्त्य गर्नुपर्ने पूर्वमन्त्री पुनको भनाइ

Related posts