म्याग्दी । हिमाली जिल्ला म्याग्दीलाई ‘समृद्ध र सुखी’ बनाउने एमाले उम्मेदवारद्वयले घोषणा गरेका छन् । आइतबार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना र ४ नम्बर वडा नारच्याङमा आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् ।
एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवं आसन्न प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठले आफूले निर्वाचन जितेमा म्याग्दी जिल्लालाई समृद्ध र सुखी बनाउन पहल गर्ने बताउनुभयो । उहाँले म्याग्दीमा प्रशस्तै सम्भावना भएकाले यसको समुचित प्रयोग गरी विकासमा लगाउन आवश्यक नीति बनाउन जरुरी भएको बताउँदै आफू निर्वाचित भएर सम्बन्धित ठाउँमा पुगेपछि जिल्लालाई समृद्ध बनाउनेतर्फ ध्यान दिने बताउनुभयो ।
म्याग्दीको सबै पालिकामा कृषि, पर्यटन, जलविद्युत, पशुपालन, खनिज, जडिबुटीलगायत प्राकृतिक स्रोतसाधनहरुको पर्याप्त उपलब्धता भएको बताउँदै उम्मेदवार श्रेष्ठले स्रोतसाधनको पहिचान र परिचालन गरी समृद्ध म्याग्दी बनाउन सकिने भएकाले एमालेको पक्षमा मतदान गर्न अपिल गर्नुभयो । उहाँले स्वदेशमा केही पनि काम पाइएन भनेर विदेशिने युवाहरुलाई जिल्लामा रोजगारको विभिन्न क्षेत्रहरुको पहिचान गरेर स्वरोजगार बनाउन सकिने हुँदा एमालेले गरेको घोषणालाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सोही सभालाई सम्बोधन गर्दै एमाले म्याग्दीका अध्यक्ष एवं प्रदेशसभा (१)का उम्मेदवार देवेन्द्रबहादुर कटुवालले एमाले पार्टीले यसअघि देश विकासका लागि सुरु गरेको कार्यक्रम तथा योजनालाई पूर्णता दिइने बताउनुभयो । उहाँले आफू प्रदेश सभामा पुगेको खण्डमा म्याग्दी जिल्लाको विकास गर्न आवश्यक पर्ने भौगोलिक अवस्था तथा हिमाली जिल्ला अनुकुल नीति निर्माणको पहल गरी कायान्यवन गर्ने प्रतिबद्धता जनाउँदै मंसिर ४ गतेको निर्वाचनमा एमाले र एमालेका उम्मेदवारलाई भोट दिएर जिताउन आग्रह गर्नुुभयो ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री थममाया थापाले यसअघि एमाले नेतृत्वको सरकारले सङ्घीयताको कार्यान्वयनसँगै वृद्धभत्ता वृद्धि तथा मजदुरको माग सम्बोधन गरेको, कोरोनाको खोप समयमै ल्याएर जनतालाई लगाएको, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा पर्याप्त बजेटको विनियोजन गरेको, पूर्वाधार निर्माणमा जोड दिएको बताउनुभयो । उहाँले देशमा सुशासन, विकास, समृद्धि र समानता कायम गर्नका लागि एमालेको पक्षमा मतदान गरी विजयी बनाउनुपर्नेमा जोड दिनुभयो ।