स्थायी जागिर छाडेर राजनीतिमा होमिएका उम्मेदवार श्रेष्ठ

म्याग्दी । मंसिर ४ गते हुने आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि अहिले चुनावी मैदानमा होमिएका मध्ये मुख्य रुपमा दुई जनाको बीचमा नै प्रतिस्पर्धा हुने देखिएको छ । वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेस म्याग्दीका खमबहादुर गर्बुजा (खम्बीर) तथा नेकपा एमालेको गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठको बीचमा प्रतिस्पर्धा हुनेछ । बेलायती सेनाबाट सेवानिवृत्त भएका गर्बुजा र नेपाल सरकारको स्थायी जागिरको राजीनामा दिएर राजनीतिमा लागेका श्रेष्ठ बीचको प्रतिस्पर्धा निकै रोचक देखिन्छ । नेपाल सरकारको लेखा समूहको स्थायी जागिर छाडेर राजनीतिमा प्रवेश गरेका श्रेष्ठ म्याग्दीको राजनीतिमा विवादरहित व्यक्तिका रुपमा परिचित छन् ।

हालको बेनी नगरपालिका–७, (साविक अर्थुङ्गे गाविस–१) बेनी, म्याग्दीमा जन्मिएका श्रेष्ठ २०३६ सालमा विद्यार्थी सङ्गठन अनेरास्ववियु (पाचाँै)मा आबद्ध भएका थिए । श्रेष्ठ तत्कालीन अवस्थामा २०३८ सालमा प्रकाश माध्यमिक विद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि उनी २०४० सालमा महेन्द्र बहुमुखी क्याम्पस बागलुङको अनेरास्ववियु प्रारम्भिक कमिटीको अध्यक्ष बने । २०४१ सालमा अनेरास्ववियु धौलागिरी अञ्चल सम्मेलन आयोजक कमिटीको सदस्य भएका श्रेष्ठले २०४६ सालमा नेकपा (माले) म्याग्दीमा बजार सक्रिय दल बेनीको सदस्य बन्न पुगे ।

बेनीबजारका स्थायीवासिन्दा श्रेष्ठ २०४९ सालमा नेकपा (एमाले) बजार पार्टी सक्रिय दल बेनीको सचिव चयन भएका थिएभने २०५० मा नेकपा (एमाले) इलाका नम्बर १ को सदस्य चयन बने । २०५१ सालमा नेकपा (एमाले) जिल्ला कमिटी म्याग्दीको सदस्य भएका उनी जिल्ला कमिटीको विभिन्न पदमा रहँदै २०६६ सालदेखि २०७८ सम्म नेकपा (एमाले) जिल्ला कमिटी म्याग्दीको अध्यक्ष भएर जिम्मेवारी सम्हाले । उनी अध्यक्ष रहँदै गर्दा एमालेले म्याग्दीमा २०७० सालको दोस्रो संविधानसभा र २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन जित्यो । २०७८ मा एमाले जिल्ला अधिवेशनबाट देवेन्द्रबहादुर कटुवाल जिल्ला अध्यक्ष भएपछि २०७८ मै नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य बन्न पुगेका श्रेष्ठ अहिले नेकपा एमालेको तर्फबाट निर्विकल्प रुपमा प्रतिनिधिसभा उम्मेदवार चयन भएका हुन् । नेकपा एमाले म्याग्दीको गत भदौमा सम्पन्न जिल्ला कमिटीको वैठकले सर्वसम्मत रुपमा श्रेष्ठको एकल नाम प्रतिनिधिसभाका लागि सिफारिस गरेको थियो ।

राजनैतिक तथा सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएका श्रेष्ठले वि.सं. २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा अर्थुङ्गे गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । उनले २०५९ सम्म अर्थुङ्गे गाउँ विकास समितिको अध्यक्षको कार्यभार सफल र सक्षम तबरले सम्पन्न गरेका थिए । गाविस अध्यक्ष भएकै समयमा २०५९ सालमा श्रेष्ठ गाविस महासंघ जिल्ला समिति, म्याग्दीको अध्यक्ष समेत भएका थिए ।


पेशागत तथा सामाजिक विकासका हिसाबले हेर्ने हो भने पनि श्रेष्ठको भूमिका अब्बल नै देखिन्छ । उनले म्याग्दी सामुदायिक पुस्तकालयको सचिवका रुपमा २०४३ देखि २०५० सम्म जिम्मेवारी निर्वाह गरेका थिए । २०५० सालमा म्याग्दी पुस्तकालयको अध्यक्ष भएका उनले २०५४ सालसम्म अध्यक्षको भूमिका निर्वाह गरी जिम्मेवारी हस्तान्तरण गरेका थिए । २०५१ देखि २०५३ सम्म नेपाल निजामती कर्मचारी सङ्गठनको जिल्ला अध्यक्षको जिम्मेवारी पनि श्रेष्ठले निर्वाह गरेका थिए । अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने श्रेष्ठले नेतृत्व गरेका जुनसुकै संघ, सङ्गठनहरु पनि सफल भएका देखिन्छन् । उनी बेनीबजारका बासिन्दाहरुलाई भएको पिउने पानीको समस्या समाधान गर्नको लागि श्रेष्ठ कोशेढुङ्गा नै हुन् । उनले २०५४ देखि २०६३ सम्म बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष भएर काम गरेका थिए । उनकै अगुवाइमा बेनीबजारमा पुम्दी खोलादेखि पानी ल्याएर बेनीका जनतालाई शुद्ध पिउने पानी वितरण गर्न सफल भएका थिए । श्रेष्ठकै अगुवाइमा रहेको बेनीबजार संरक्षण समितिले पनि बेनीबजारलाई जोगाउन कालीगण्डकी नदीमा तटबन्धन लगायतका कामहरु गर्न सफल भएको थियो ।

म्याग्दीको एक मात्रै सरकारी स्वामित्वको म्याग्दी अस्पतालको सहयोग समितिको सदस्यका रुपमा पनि श्रेष्ठले जिम्मेवारी निर्वाह गरेका थिए । श्रेष्ठ सामाजिक संघसंस्थामा निकै सक्रिय थिए र उनी २०५४ सालमा नेपाल रेडक्रस सोसाइटी म्याग्दीको मन्त्री भए भने २०५६ सालमा सभापति चयन भएका श्रेष्ठले २०६४ सम्म नेपाल रेडक्रस सोसाइटी म्याग्दीको सफलतापूर्वक नेतृत्व गरेका थिए । उनले शैक्षिक संघसंस्थाको समितिमा बसेर काम गरेको अनुभव सङ्गालेका छन् । उच्च शिक्षा अध्ययनको पहिलो खुड्किलोको रुपमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा क्याम्पस सञ्चालक समितिको सदस्य हुँदै कोषाध्यक्षको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गरेका थिए । बेनी सामुदायिक विद्यालयको सदस्य तथा सल्लाहकार एवं प्रकाश माध्यमिक विद्यालयको अध्यक्षका रुपमा पनि जिम्मेवारी निर्वाह गरेका थिए ।

अहिले प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका एमाले नेता श्रेष्ठ अर्थुङ्गे गाविसको अध्यक्ष रहेको समयमा बेनीबजारभित्र मुख्य बजार र गाउँका सडकहरुको मापदण्ड तय गरेर काम अगाडि बढाएका थिए । त्यस्तै बजारलाई व्यवस्थित गर्न घर निर्माण गर्दा पूर्व स्वीकृत लिने व्यवस्थाको सुरुवात पनि श्रेष्ठकै अगुवाइमा बेनीमा सुरु भएको थियो । राज्यले लिने व्यावसायिक करको सुरुवात म्याग्दीको सदरमुकाम बेनी समेत रहेको अर्थुङ्गे गाविसले श्रेष्ठको अध्यक्ष कालमै गरेको थियो ।

म्याग्दीमा नगरपालिका स्थापनाको लागि श्रेष्ठले नगरपालिकाको खाका पेश गर्ने समितिको संयोजकको भूमिका पनि निर्वाह गरेका थिए । उनले आफू अध्यक्ष रहेको समयमा अर्थुङ्गे गाविसबाट पाएको पारिश्रमिक गाउँको विद्यालयहरुलाई उपलब्ध गराएका थिए । बेनीबजारको खानेपानी गाविसको मातहतमा रहेको अवस्थामा योजनालाई छुट्टै बनाएर आवश्यक विधान बनाई एसियाली विकास बैंकको सहायतामा सञ्चालित साना सहरी खानेपानी योजनामार्फत प्रत्येकका घरघरमा खानेपानी उपलब्ध गराउने कार्यको अगुवाई श्रेष्ठले गरेका थिए ।

जिल्लाकै अग्रणी म्याग्दी पुस्तकालयको भवन निर्माण तथा संस्थागत विकास गर्नका लागि प्रयास गरेका श्रेष्ठले ऐतिहासिक महत्व बोकेको हनुमान नाच प्रदर्शन गरी पुस्तकालय भवन निर्माणका लागि आर्थिक सङ्कलन गरेका थिए । म्याग्दी क्याम्पसको स्थापना, भौतिक निर्माण संस्थागत तथा शैक्षिक उत्थानको लागि उनले समितिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । बेनीबजार संरक्षणको लागि समिति गठन गरी सरकारी योजना र जनस्तरबाट समेत आर्थिक सङ्कलन गरी बजार संरक्षणको तटबन्ध निर्माण तथा बेनी कालिपुलदेखि म्याग्दीखोलाको पुलसम्मको सडक निर्माण गर्नमा योगदान गर्नुका साथै बेनीबजारको बीरेन्द्रचोक नजिकै रहेको अनिवार्य स्कुल अर्थात् बेनी प्राविलाई बेनी सामुदायिक माविमा स्तरोन्नति गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । जिल्ला सदरमुकाममा रहेको प्रकाश माविको व्यवस्थापन समितिमा लामो समय रही विद्यालयको भौतिक र शैक्षिक उत्थानमा उनले सहयोग पु¥याएका थिए ।

एमाले नेता श्रेष्ठले विगतमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको मन्त्री र सभापतिमा रहदा रेडक्रसलाई उपशाखामार्फत गाउँस्तरमा रेडक्रस विस्तार गर्नुका साथै रेडक्रसमार्फत सामाजिक कार्यमा निकै ठूलो योगदान पु¥याएका थिए । सदरमुकामको मुटुमा रहेको जिल्ला हुलाका कार्यालयसँगै जोडिएर रहेको नेपाल रेडक्रस सोसाइटीको अहिलेको भवन निर्माणमा महत्वपूर्ण भूमका निर्वाह गरेका थिए । म्याग्दी अस्पताल परिसरभित्र विकास नेपाल बेल्जियमको सहयोगमा रक्तसञ्चार केन्द्रको भवन निर्माण गरी रगत अभावले अकालमा ज्यान जानबाट नागरिकलाई जोगाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

श्रेष्ठले दैवी प्रकोपको समयमा सधैँ महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । श्रेष्ठको त्यही कामको मूल्याङ्कन गर्दै दैवी प्रकोप उद्धार पदकबाट समेत सम्मानित भएका थिए । श्रेष्ठले भारत, चीन, थाईल्याण्ड, सिङ्गापुर, मलेसिया, अल्जिेरिया, ईटाली, फ्रान्स, डेनमार्क, बेल्जियम, स्वीजरल्याण्ड, नेडरल्याण्ड लगायतका विदेशी मुलुकहरुको भ्रमण पनि गरेर अनुभव समेत सङ्गालेका छन् । राजनीतिसँगै जिल्लाको सामाजिक तथा शैक्षिकलगायत विविध क्षेत्रमा योगदान पु¥याएका एमाले नेता श्रेष्ठ अहिले आसन्न मंसिर ४ गतेको निर्वाचनका लागि गाउँगाउँमा प्रचारप्रसारमा व्यस्त छन् । एमाले म्याग्दीबाट सर्वसम्मत प्रतिनिधिसभाको उम्मेदवार बन्न सफल उनी नेता, कार्यकर्ता र म्याग्देली जनताको माझमा लोकप्रिय छवि बनाउन सफल नेताको रुपमा चिनिन्छन् ।

You can share this post!

बेनी बजारका पुराना चौतारी संरक्षण गरिदै

एमाले उम्मेदवार गर्वुजाको प्रतिवद्धताः “जे सक्छु जनताकै लागि गर्छु मलाई कुनै लोभ छैन”

Related posts