म्याग्दी । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उम्मेदवारले शुक्रबार म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट, २ रुम र ३ डाडागाउँमा चुनावी सभा गरेका छन् ।
सभालाई सम्बोधन गर्दै उम्मेदवार तथा गठबन्धनका नेताहरुले संविधानको रक्षा, राजनीतिक स्थिरता, विकास र सम्बृद्धीका लागि परिवर्तनको नेतृत्व गरेका राजनीतिक शक्तिहरुबीच सहकार्य भएको बताउनुभयो ।
उनिहरुले निस्कोट, रुम र डाडागाउँ जोड्ने सडकलाई स्तरोन्नति गर्ने, अधुरो विद्युतीकरण योजनालाई पूर्णता दिने, खानेपानी सुविधा विस्तार गर्ने, ढुङ्गाखानीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नीति बनाउने, शिक्षा, स्वास्थ्यमा सुधार, कृषि, पर्यटन र जडिवुटीको विकासमा जोड दिने प्रतिवद्धता जनाएका छन् ।
प्रतिनिधि सभा सदस्यका उमेद्वार तथा नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बिर ले बेलायतको सेवा र सुविधा छाडेर दुई पटक चुनाव हार्दा पनि म्याग्देलीको हक हित र विकासका लागि राजनीतिमा निरन्तर समर्पित भएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा प्रदेशसभा क्षेत्र ख का उम्मेदवार रेशम जुग्जाली सुविन ले चुनावका लागि मात्र गाउँमा आएकाबाट विकास र जनताको समस्या समाधान नहुने भएकाले पाँच वर्ष खेर जान नदिनका लागि अपिल गर्नुभयो ।
नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक उम्मेदवार रहनुभएका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठले देशैभर गठबन्धनप्रति जनलहर छाएकाले अब संघ र प्रदेशको सरकार पनि गठबन्धनकै बन्ने र जिल्लाका प्रतिनिधिहरु पनि गठबन्धन दलकै हुँदा विकासका योजना भित्र्याउन र कार्यान्वयनमा सहज हुने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द पौडेल र नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि श्रीप्रसाद रोकाले गठबन्धन कसिलो बनेकाले जित सुनिश्चित भएको बताउदै विपक्षीले फैलाएको भ्रममा नपर्न आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसका नेता पिपला बुढाथोकी, नेकपा एकिकृत समाजवादीका समानुपातिक उम्मेदवार दुर्गा कार्कीले शान्ति प्रक्रीया, जनआन्दोलन, संविधान जारी र संघीयताको कार्यान्वयनमा सहकार्य गरेका राजनीतिक शक्तिहरुबीचको सहकार्यले राष्ट्रियताको रक्षा, संविधान कार्यान्वयन र राजनीतिक स्थिरताका साथै शुसासन कायम हुने बताउनुभयो ।