म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीमा आयोजना भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको भोली हुने फाइनल खेलमा विभागीय टोली शसस्त्र प्रहरी बल (एपिएफ) र नेपाल पुलिस क्लव भिड्ने भएका छन ।
मंगलबार भएको सेमिफाइनल खेलमा बागमती प्रदेशलाई पराजित गरि एपिएफ र गण्डकीलाई पराजित गरि नेपाल पुलिस क्लव फाइनल प्रवेश गरेका हुन । सेमिफाइनल खेलको महिलो सेट २३ का विरुद्ध २५ अंक लिदै बागमतिले जितेको थियो भने त्यसपछिका तीन सेट एपिएफले २३–२५, २२–२५ र १६–२५ अंकका साथ जित निकालेको थियो ।
अन्तराष्ट्रिय स्तरको खेलाडी प्रतिभा माली समावेश भएको बागमतिले उत्कुष्ट खेल प्रदर्शन गर्दै दर्शकको मन जितको छ । खेल अवधिभर दर्शकले बागमतीलाई भव्य हुटिङ गरेका थिए । उक्त खेलमा एपिएफका निरुता ठगुन्ना उत्कृष्ट खेलाडी घोषित हुनुभएको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।
नेपाल पुलिस क्लव र गण्डकी प्रदेश विच भएको दोस्रो सेमिफाइनलको खेलमा भने त्यति रोचक हुन सकेन । सोझो सेटमा जित हासिल गरेको पुलिसले सुरुवातदेखिनै गण्डकीलाई दबाबमा राखेको थियो । १०–२५, १८–२५ र ११–२५ अंकका साथ पुलिस विजयी हुँदा घरेलु मैदानमा गण्डकीले भने दर्शकको राम्रो साथ पाएको थियो ।
पुलिसका कप्तान कमला पुन र गण्डकीका कप्तान अरुणा शाही दुवै म्याग्दी जिल्लाका खेलाडी भएकाले पनि दर्शकको साथ दुवै टिमलाई बराबर जस्तो देखिन्थ्यो । सो खेलमा उत्कुष्ट खेलाडीको ट्रफि भने नेपाल पुलिस क्लवका कामना विष्टले प्राप्त गर्नुभएको थियो ।
भोली दिउँसो १ बजे एपिएफ र पुलिस क्लव विच अन्तिम फाइनल खेल संचालन गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो । त्यसभन्दा अगाडी विहान १० बजेदेखि तेस्रो स्थानका लागि बागमती र गण्डकी प्रदेशविच खेल संचालन हुनेछ ।
एपिएफ र पुलिस क्लव दुवै टिममा नेपालबाट अन्तराष्ट्रिय स्तरको खेल खेल्ने खेलाडीहरु समावेश भएकाले फाइनल खेलमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।