म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज भएको खेलमा विभागीय टोली शसस्त्र प्रहरी वल (एपिएफ) र बाग्मति प्रदेश विजयी भएको छ ।
शुक्रबार विहान ८ बेनीको खल्लामञ्चमा एपिएफ र कर्णाली प्रदेश विच भएको खेलमा एपिएफले सोझो ३ सेट हात पार्दै विजयी भएको हो । एपिएफले कर्णाली प्रदेशलाई ६–२५, २–२५ र ७–२५ को अंकमा हराएको हो ।
त्यस्तै विहान १० बजे संचालन भएको बाग्मति र प्रदेश नम्वर १ विचको खेलमा बाग्मतिले सोझो ३ सेट लिदै जित निकालेको छ । खेलको सुरुवातदेखिनै प्रदेश १ लाई दबाबमा राखेको बाग्मतिले पहिलो सेट ७–२५, दोस्रो १२–२५ मा रे तेस्रो सेट पनि १२–२५ अंकका साथ जितेको थियो ।
खेलाडीको हौसलाका लागि प्रत्यक खेलमा म्यान अफ म्याच घोषणा गर्ने व्यवस्था गरिएको छ । जसअन्तर्गत पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपिएफ) का कविता भट्टले म्यान अफ द म्याचको ट्रफि प्राप्त गर्नुभएको छ ।
त्यस्तै दोस्रो खेलमा बाग्मतिका सलिना बुढाथोकी म्यान अफ द म्याच बन्नुभएको छ । उत्कृष्ट खेलाडी द्वयलाई बेनी नगरपालिका प्रमुख सुरत केसी र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले ट्रफि प्रदान गर्नुभएको जिल्ला भलिबल संघका महासचिव कुमार किसानले जानकारी दिनुभयो ।
आजको तेस्रो खेल दिउँसो २ बजे विभागीय टोली नेपाल प्रहरी र लुम्विनी प्रदेश विच हुने भएको छ ।