म्याग्दी । म्याग्दीमा विहिबार देखि सुरु भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा गण्डकी प्रदेशले जितको सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशलाई सोझो ३ सेटमा पराजित गर्दै जितको यात्रा सुरु गरेको हो ।
राष्ट्रिय टिमका कप्तान अरुणा शाहीको नेतृत्वमा घरेलु मैदानमा उत्रिएको गण्डकी प्रदेशले खेलको सुरुवातदेखिनै उत्कृष्ट प्रदर्शन गरेको थियो । खेलको पहिलो सेटमा १८–२५, दोस्रो सेटमा ८–२५ र तेस्रो सेटमा २२–२५ अंकले गण्डकी विजयी बनेको हो ।
उक्त खेलमा उत्कृष्ट खेलाडीको ट्रफि गण्डकीका रिमा कुँवरले प्राप्त गर्नुभएको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।
खेल सुरु हुनपुर्व जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राज कुमार थापा, बेनी नगरपालिका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना लगायतले खेलाडीहरुलाई शुभकामना प्रकट गर्नुभएको थियो ।
नवौँ राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीमा महिला भलिबल संचालन हुँदा जिल्लाबासीहरु हर्षित बनेका छन । खेल संचालन हुने स्थान खुल्ला मञ्चलाई आकर्षक बनाईएको छ ।
खेलाडी तथा अफिसियलका स्वागतका लागि बजारका टोलहरुमा ध्वजा टाँगिएको छ । खेल अवलोकनका लागि जिल्लाबासीहरुको पहिलो दिनमै उल्लेख्य उपस्थिति रहेको छ ।
कार्तिक २ गतेदेखि संचालन हुने खेलमा ७ वटा प्रदेश र ३ विभागीय गरि १० टिमको सहभागिता रहेको छ । शुक्रबार (भोली) विहान ८ बजे एपिएफ र कर्णाली प्रदेश विच खेल संचालन हुनेछ ।
विहान १० बजे बाग्मति प्रदेश र १ नम्वर प्रदेश विच खेल हुने जिल्ला भलिबल संघका महासचिव कुमार किसानले जानकारी दिनुभयो । त्यस्तै दिउँसो १ बजे नेपाल पुलिस क्लव र लुम्विनी प्रदेश विचको खेल संचालन गरिने भएको छ ।
खेलाडी तथा अफिसियलहरुको बसाईलाई सवल व्यवस्थापन गरिएको छ । सुरुक्षा तथा अन्य प्रवन्ध समेत मिलाईएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले बताउनुभयो । जिल्लाको उत्कृष्ट व्यवस्थापन प्रति राष्ट्रिय खेलकुद परिषद तथा नेपाल भलिबल संघले खुसि व्यक्त गरेको छ ।