म्याग्दीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु

म्याग्दी । एकतावद्ध देश खेलकुदको सन्देश भन्ने मुख्य नारा सहित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबल र तेक्वान्दो म्याग्दीमा सुरु भएको छ । प्रतियोगिताको विहिबार जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको हो ।

बेनीको खुल्ला मञ्चमा आयोजित कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि थापाले खेलाडी राष्ट्रको पहिचान भएकाले सम्मान र संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तगरत दुईखेल म्याग्दीमा संचालन हुनु गौरवको बिषय भएको भन्दै यसलाई व्यवस्थित र भव्य बनाउन आग्रह गर्नुभएको छ । खेलाडीको सुरक्षा र निष्पक्ष खेल संचालनमा मद्दत गर्न सुरक्षा निकायलाई अनुरोध समेत गर्नुभएको छ ।

कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका बेनी नगरपालिकाका प्रमुख सुरत केसीले राष्ट्रिय खेल म्याग्दीमा संचालन हुँदा यहाँको व्यवसाय र पर्यटनमा समेत टेवा पुग्ने बताउनुभयो । राष्ट्रिय खेलकुद परिषदले तोकेर पठाएको खेलाडी र अफिसियल बाहेक अरु सहभागी नहुन निर्देशन दिदै नगर प्रमुख केसीले प्रतियोगितालाई मर्यादित, सभ्य र भव्य बनाउन सरोकारवाला तथा जिल्लाबासीहरुलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै गाउँपालिका अध्यक्षहरुको तर्फबाट बोल्दै धवलागिरी गाउँपालिका अध्यक्ष प्रेम पुनले म्याग्दीमा राष्ट्रिय खेल संचालन भएको प्रति खुसि प्रकट गर्दै प्रतियोगिता संचालनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले प्रतियोगिता अवधिभर सुरक्षा मजबुत बनाएको बताउँदै सौहार्दपूर्ण वातावरणमा खेल संचालन र अवलोकन गर्न अनुरोध समेत गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद उपनिर्देशक टार्जन सुब्बा, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, भलिबल रेफ्री संयोजक चन्द्र बन्दना राई, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवाल, बेनी नगरपालिका वडा नम्वर ७ का अध्यक्ष रमेश श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।

उद्घाटनपूर्व जिल्ला स्थित विभिन्न जातजाति तथा संघ संस्थाहरुको झाँकी सहित बजार परिक्रमा गरिएको थियो । कार्यक्रममा जिल्लाको पहिचान झल्किने गरि सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । उद्घाटन कार्यक्रम बेनी नगरपालिका प्रमुख केसीको अध्यक्षता, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीको स्वागत र जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

मोना अन्तराष्ट्रियको आठौँ साधारण सभा सम्पन्नः उत्पादनमुखि लगानीमा जोड

राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकीद्वारा जितको सुरुवात

Related posts