मोनाको आठौँ बार्षिक साधारणसभा धवलागिरिको ताकममा हुने

म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्य समितिको आठौं बार्षिक साधारण सभा धवलागिरि गाउँपालिका–७ ताकममा आयोजना हुने भएको छ । असोज २७ र २८ गते हुने भनिएको साधारणसभाको मिति परिवर्तन गरेर असोज २४ र २५ गते तय गरिएको हो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा हुने राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिताको मितिसंग जुधेपछि मोनाले ३ दिन अगाडी मिति सारेर साधारण सभा सम्पन्न गर्न लागेको मोना अन्तराष्ट्रियका सचिव सुवोध वरुवालले जानकारी दिनुभयो ।

धवलागिरि गाउँपालिकाको एक सुन्दर पर्यटकीय बस्ती ताकममा साधारणसभा सम्पन्न गर्न स्थानीय वडा तथा पालिकासंग समन्वय गरि तयारी सुरु गरेको मोनाले जनाएको छ । विश्वभर रहेका म्याग्देलीको साझा संस्था मोनाको बार्षिक साधारणसभाको अवसरमा अन्तरपालिका पुरुष तथा महिला भलिबल प्रतियोगिता, म्याग्दीको पहिचान थाली र पुख्यौली नाच सहित विविध कार्यक्रम समेत रहेको जनाइएको छ ।

कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, एनआरएनएका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाको उपस्थितिमा प्रवासी म्याग्देलीको भावी योजना लगायतका विषयमा छलफल हुने मोनाले जनाएको छ ।

कार्यक्रममा ताकमको राधाकृष्ण नाच सहित स्थानीय कला र संस्कृतिलाई प्राथमिकता दिइएको मोनाले जनाएको छ । पालिका स्तरीय भलिबल प्रतियोगितामा प्रथमलाई रु १ लाख, द्धितियलाई रु ५० हजार, तृतीयलाई नगद रु २५ हजार र सान्त्वनालाई नगद रु १५ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।

मोनाका अध्यक्ष अम्मर छन्त्यालले साधारणसभाले धवलागिरी गाउँपालिका भित्रका सम्भावनायुक्त क्षेत्रको पहिचान तथा कृषि, पर्यटन र धार्मिक क्षेत्रहरुको प्रचारप्रसारमा समेत सघाउने बताउनुभयो ।

मोनाको विश्वभर २८ देशमा राष्ट्रिय समिति, ५ वटा क्षेत्रीय समिति रहेका छन् । ताकम धौलागिरि पदमार्गको पर्यटकीय गाउँको रुपमा परिचित छ भने ऐतिहासिक ताकमकोतको कारण पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

You can share this post!

छैठौँ अर्थुङ्गे कप असोज २२ गतेदेखि हुने

चाडपर्वसँगै चुनावमा केन्द्रीत हुन एमाले नेताहरुको निर्देशन

Related posts