म्याग्दी । म्याग्दीको बेनीस्थित न्यु वेष्ट पोइन्ट आवासीय माविमा बृहत खेलकुद महोत्सव समापन भएको छ । मंगलबार देखि सुरु भएको खेलकुद महोत्सव शनिबार समापन गरिएको हो । समापन कार्यक्रममा विद्यार्थीहरुले ट्रयाक तर्फका खेलका फाइनल खेलहरु कवाज ड्रिल तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । समापन कार्यक्रममा प्रमुख अतिथि श्री शत्रुभन्जन गुल्म अर्थुंगे ब्यारेकका मेजर सशांकराज अर्यालले कवाजको सलामी ग्रहण र मशाल दिप प्रज्वलन गर्नु भएको थियो ।
कार्यक्रमा विशिष्ट अतिथि म्याग्दी प्याबसनका अध्यक्ष हिरा पुनले मन्तब्य ब्यक्त गर्दै जिल्लामा शैक्षिक र खेलकुदको क्षेत्रमा वेष्ट पोइन्टले आफ्नो अग्रता काम गरिरहेको र आगामी दिनमा यसलाइ कायम राख्न समेत शुभकामना दिनुभयो । ओलम्पिक खेलकुदको झल्को दिनेगरी आयोजना गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले कार्यक्रमको समेत प्रशंसा गरेका थिए ।
असोज ४ गते देखि ८ गते सम्म संचालन भएको खेलकुद कार्यक्रममा कक्षा १ देखि १२ सम्मका ८ सय विद्यार्थीहरु विभिन्न विधामा सहभागी भएको विद्यालयका खेल शिक्षक दिपेन राइले बताउनुभयो । समापन कार्यक्रममा राष्ट्रिय सेवादल ४८ औं ब्याचका विद्यार्थीहरुले खुकुरी ड्रिल र एरोबिक्स प्रदर्शन गरेका थिए ।
त्यसैगरी वेष्ट पोइन्ट मंटेसरीका विद्यार्थीहरुले आकर्षक झाकी र ड्रिल, कक्षा ८ र ९ का विद्यार्थीहरुको संयोजनमा लाखे नाच समेत प्रदर्शन गरिएको थियो भने अभिभावकहरुका लागी लठ्ठो तान्ने प्रतियोगिता आयोजना गरिएको थियो । कार्यक्रममा विद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभाक संघ, संस्थापक निर्देशक हरुको समेत उपस्थिति रहेको थियो ।
समापमन कार्यक्रम वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रा लीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता श्री शत्रुभन्जन गुल्म अर्थुंगे ब्यारेकका मेजर सशांकराज अर्यालको प्रमुख आतिथ्यता, नेपाल पत्रकार महासंघ म्याग्दीका प्रकाश पौडेल, जिल्ला ब्याडमिन्टन संघ म्याग्दीका अध्यक्ष हिमाल कार्कीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत विद्यालयका प्रिन्सिपल डीबी दाहाल र संचालन विद्यालयका भाइस प्रिन्सिपल कृष्ण जिसीले गरेका थिए ।
औपचारिक कार्यक्रमको समापन लगत्तै जुनियर र सिनियर छात्र छात्रा दौड रिले दौड पुरास्कार वितरण कार्यक्रम सहित कार्यक्रम समापन भएको थियो । प्रतिकुल मौसमका कारण शनिबार बिहान संचालन हुन नसकेको ३ हजार मिटरको दौड आइतबार बिहान सम्पन्न भएको विद्यालयले जनाएको छ ।