वसन्त आधारभूत विद्यालयमा विविध कार्यक्रम, विद्यालयलाई फलामे पिङ सहयोग

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको वसन्त आधारभूत विद्यालयमा मङ्गलवार विविध कार्यक्रम सम्पन्न भएको छ । प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशित तथा विद्यार्थीलाई पुरस्कार वितरण, सामाजिक परीक्षण एवं आयव्यय सार्वजनिकलगायत विविध कार्यक्रमहरु गरिएको हो ।

शैक्षिक सत्र २०७९ सालको प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई विद्यालयबाट शैक्षिक सामग्री वितरण गरी पुरस्कृत गरिएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष प्रतिमा रामदामले विद्यालयको सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा विद्यालयको वार्षिक आयव्ययसम्बन्धी आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।

सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी सुरथबहादुर भण्डारीले विद्यार्थीहरुलाई लक्षित गरेर करिब १५ हजार रुपैयाँ बराबरको दुईवटा फलामे पिङ सहयोग हस्तान्तरण गर्नुभएको थियो । उक्त पिङ विव्यस अध्यक्ष भण्डारीले विद्यालयका प्रधानाध्यापक खेमराज शर्मालाई हस्तान्तरण गर्नुभएको थियो । सरस्वतीको तस्विरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गर्दै पुलाचौरका वडा सदस्य देवीदत्त पौडेलले विद्यालयको समग्र विकास गर्नका लागि सरोकारवाला निकाय सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वडा सदस्य दुर्गा पौडेलले विद्यालयसम्म पुग्ने सडक विस्तार तथा गोरेटो बाटो निर्माण गर्नका लागि वडाबाट चालु आर्थिक वर्षमा एकलाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । कार्यक्रमको समापन गर्दै विव्यस अध्यक्ष भण्डारीले विद्यालयको भौतिक संरचना विस्तार तथा विद्यालयको मर्मतसम्भारमा आवश्यक बजेटको व्यवस्था गर्न जनप्रतिनिधिको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले अभिभावकले निजी विद्यालयभन्दा सामुदायिक विद्यालयलाई प्राथमिकता दिनुपर्ने भन्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । विद्यालयका प्रअ शर्माले विद्यालयको चौतर्फी विकास गर्नका लागि अभिभावक, सरोकारवाला र विद्यार्थीले सहयोग गर्नुपर्ने बताउनुभयो ।

जनकल्याण माध्यमिक विद्यालय पुलाचौरका प्रधानाध्यापक कमलप्रसाद पौडेलले विद्यालयको विकास तथा शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि विद्यालय प्रशासन, अभिभावक र समुदाय मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । विव्यस सदस्य लक्ष्मी शर्माले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम विद्यालयका शिक्षकद्वय किशोर पौडेलको सञ्चालन र विरन्ती सुवेदीको स्वागतमा सम्पन्न भएको थियो ।

२०४९ सालमा स्थापना भएको यस विद्यालयमा हाल ७ जना शिक्षक तथा कर्मचारीको जनशक्ति कार्यरत रहेको छ । शिक्षक दरबन्दीतर्फ ३ जना, बालविकास सहयोगी कार्यकर्ता १ जना, विद्यालय कर्मचारी १, सेल्फलेस सोसाइटी सर्भिस अमेरिकाको सहयोगमा २ जना कर्मचारी रहेका छन्भने सोही संस्थाले खाजा व्यवस्थापनका लागि मासिक १० हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आइरहेको विद्यालयका प्रअ शर्माले बताउनुभयो । विद्यालयमा हाल २४ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

You can share this post!

फोटो पत्रकार महासंघ म्याग्दीको अध्यक्षमा अमर बानियाँ

पुलाचौरका मतिलाललाई ५० हजार पुरस्कार, २४ हजार ऋण मिनाहा

Related posts