म्याग्दी जिल्लामा जन्मनु भएका लोकप्रीय लोक गायक एवम् राष्ट्रिय स्तरमै चर्चित सारङ्गी वादक हेमन्त कान्छा रसाईलीले बेलायतमा कार्यक्रम ‘सारङ्गी संग’ एकल सारङ्गी साँझ आयोजना गर्न लाग्नुभएको छ ।
म्याग्दी प्रवासी नेपाली संघ मोना युकेको निमन्त्रणामा सांगीतिक कार्यक्रमका लागि ४ महिना अघि बेलायत पुग्नुभएका गायक हेमन्त कान्छाको यहि भदौ २५ गते (१० सेप्टेम्वर) मा एकल साँझ हुने भएको हो । बेलायतको हल्डरसोट स्थित एम्पाएर हलमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको गायक रसाईलीले बताउनुभयो ।
‘सारङ्गी संग’ एकल साँझमा गायक हेमन्त कान्छा सारङ्गीका मिठा धुनहरु र पुराना मौलिक लोक भाका सहित प्रस्तुत हुनुहुनेछ । लाईभ कार्यक्रमका लागि बाँसुरीमा दिनेश गुरुङ, मादलमा मिन गुरुङ, तुलसी राना, रेशम पाचे, हार्मोनियममा कुमार गुरुङ, गीतारमा दिप्सन विके र अक्टोप्याडमा विलन थापाले साथ दिनेभएका छन ।
सांगीतिक कार्यक्रमका लागि युकेमै रहनुभएका लोकप्रीय गायीका विमला श्रीषको पनि विशेष प्रस्तुति रहने साँझमा निर आलेको वेजोड कमेडी रहने छ । भने मन सुधन थापाले कार्यक्रम संचालन गर्ने गायक रसाईलीले बताउनुभयो ।
एकल सारङ्गी साँझ सफल बनाउनका लागि पुरन गिरीले हल व्यवस्थापन गरिदिनुभएको छ । त्यस्तै थुपै मनकारी व्यक्तिहरुको साथ सहयोग मिलेको गायक रसाईलीको भनाई छ । मन ट्राभलको आयोजनामा हुन लागेको सारंगी साँझमा गायक रसाईलीले आफूले अहिलेसम्म बजाएका करिव १२ हजार गीतमध्य दर्शक श्रोतामाझ लोकप्रीय बनेका सारङ्गीका उत्कृष्ट धुनहरु लाईभ प्रस्तुत गर्नुहुनेछ ।
त्यस्तै उहाँले गाउनुभएको काचो सुन्तला, बालापन, भाग्यमानी, किन होला खै, फुल रोको कसले देख्छ र, कर्मै हाराको, लाहुर लगायतका गीतहरु सारङ्गीमा गाउनुहुने कार्यक्रम रहेको छ । यसवाहेक रेलको ढोक बन, झलकमान गन्धर्वको हे वरै लगायतका पुराना मौलिक लोकभाकाहरुमा पनि हेमन्तको स्वर र सारङ्गी गुञ्जाएमान हुने तयारी गरिएको छ ।
म्याग्दीको मालिका गाउँपालिका–४ चिउरीबोट मठ्ठ डाँडामा जन्मिएका हेमन्तले बेलायतमा सारङ्गी संग एकल साँझ कार्यक्रम गर्नुको मुख्य उद्देश्य नेपाली माटोको सुगन्ध छर्ने, नेपालीको जनवीजनको कथा बोल्ने सारङ्गीको संरक्षण गर्नु रहेको बताउनुभयो ।
युकेमा मेरो लागि यो ऐतिहाँसिक कार्यक्रम हुनेछ, गायक हेमन्त कान्छाले भन्नुभयो, कार्यक्रम आयोजना गर्नका लागि बेलायतमा रहेका म्याग्देली तथा नेपालीहरुको महत्वपूर्ण साथ सहयोग प्राप्त भएको छ ।
सेप्टेम्वर १० तारिखका दिन कार्यक्रममा उपस्थित भैदिन उहाँले म्याग्देली तथा गैर म्याग्दीलाई सम्पुर्ण युकेबासीहरुलाई निमन्त्रणा समेत गर्नुभएको छ । ४ महिनाको युके बसाईमा करिव २० वटा जति सांगीतिक कार्यक्रममा सहभागी हुनुभएका हेमन्तको यो युके बसाईको अन्तिम कार्यक्रम पनि हो ।
कार्यक्रमकै अवसरमा मोनाले उहाँलाई विदाई समेत गर्ने कार्यक्रम रहेको बताईएको छ । बेलायतमा सारङ्गीको धुन गुञ्जाउने यो सुनौलो अवरमा सृजना गरिदिएकोमा मन ट्राभल्सका संचालक बागविर पुन लगायतका सहयोगीहरुलाई गायक हेमन्तले आभार प्रकट गर्नुभएको छ ।