म्याग्दी । प्राईम कमर्सियल बैंक बेनी शाखाले श्री कृष्ण गण्डकी ज्येष्ठ नागरिक आश्रम बेनीलाई आर्थिक सहयोग गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत आश्रमको नियमित गतिविधिमा सहज हुने गरी कुर्ची खरिदका लागि २१ हजार ८ सय रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
उक्त चेक हस्तान्तरण गर्दै बैंकका शाखा प्रबन्धक मुरारी रिजालले ज्येष्ठ नागरिकहरु समाजका अगुवा तथा युवा पुस्ताको मार्गदर्शक भएकाले उहाँहरुको सम्मानमा बैंकले सहयोग रकम उपलब्ध गराएको बताउनुभयो । बैंकले ज्येष्ठ नागरिक, अपाङ, असहायको सेवासुविधाका लागि सामाजिक सुरक्षा भत्ता समेत वडामै पुगेर वितरण गर्ने गरिएको रिजालले जानकारी दिनुभयो ।
भरपर्दो वित्तिय सेवासँगै बैंकले सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएको र यस्ता गतिविधिलाई निरन्तरता दिने योजना रहेको प्रबन्धक रिजालले बताउनुभयो । सोही अवसरमा आश्रमका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, उपाध्यक्ष नैन कुमार श्रेष्ठले आश्रमको आवश्यकतालाई मध्यनजर गर्दै सहयोग उपलब्ध गराएकोमा बैंक परिवारलाई धन्यवाद प्रकट गर्नुभएको थियो ।
ज्येष्ठ नागरिकको जीवनलाई सहज बनाउन सन्ततीहरुको भूमिका महत्वपूर्ण हुने हुँदा उनिहरुलाई वृद्धाश्रम नभई घरमै राखेर सम्मानित व्यवहार गर्नुपर्नेमा जोड दिएको आश्रमका सदस्य एवम् शिवालय मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष बिक्रम श्रेष्ठको भनाई छ ।