म्याग्दीमा सहकारी बैंकको शाखा संचालन हुने

म्याग्दी । म्याग्दीको बेनीमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना गर्न पहल थालिएको छ । आइतबार बेनीमा आयोजित राष्ट्रिय सहकारी बैंकको सेवा र सहकारीको समसामयिक विषयमा छलफल कार्यक्रममा बोल्ने सहकारीकर्मीले म्याग्दीका सहकारीहरूलाई सहज र प्रभावकारी सेवा दिन शाखा विस्तारको आवश्यकता रहेको बताएका छन ।

सोही अवसरमा शाखा स्थापना तथा पहलका लागि बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा ११ सदस्यीय र जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । शाखा स्थापनाका लागि को–अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीले राष्ट्रिय सहकारी बैँक लि.का अध्यक्ष केवी उप्रेतीलाई शाखा स्थापनाका लागि ज्ञापनपत्र समेत बुझाएको छ ।

सोही अवसरमा बोल्दै प्रमुख अतिथि सहकारी बैंकका अध्यक्ष उप्रेतीले सहकारी बैंकले आफ्ना सदस्यलाई सहज र प्रविधियुक्त सेवाका लागि सहयोग गर्दै आएको बताउनुभयो । उहाँले सहकारीले मापदण्ड अनुसार सेवा प्रवाह गर्न सकेमा वित्तिय समस्या नआउने बताउनुभयो ।

‘सबै सहकारीको अवस्था एउटै छैन्, ‘वित्तिय अनुशासनमा रहेका सहकारीलाई कुनै समस्या हुदैन’ अध्यक्ष उप्रेतीले भन्नुभयो । उहाँले सहकारी बैंक सहकारीकै हितमा मात्रै काम गर्ने भएकाले तालिम तथा विभिन्न गतिविधिमा सहकार्य आवश्यक रहेको बताउनुभयो । म्याग्दीमा बैंकको शाखा स्थापना गर्न सहकारीकर्मीको भूमिका महत्वपूर्ण रहने उहाँको भनाई थियो ।

वित्तीय सेवासँगै सहकारीहरुको संस्थागत विकासका लागि बैंकले हरेक समय साथ दिने भएकाले शाखा स्थापनाका लागि आवश्यक सहयोग गर्ने उप्रतिले बताउनुभयो । सोही अवसरमा जिल्ला सहकारी संघका अध्यक्ष कार्कीले संघलाई उपेक्षा गर्ने सहकारीहरूका कारण समस्या भएको बताउनुभयो ।

सहकारी बैंकको शाखा स्थापना गरेपछि निक्षेप संकलन तथा तालिम, अनुगमन सहितका कार्यहरुमा समेत सहज हुने कार्कीको भनाई थियो । सबै सहकारीलाई बैंकमा आवद्ध गराउने गरी अगाडी बढ्न सकेमा शाखा स्थापनापनि निकै सहज हुने बैंका गण्डकी प्रदेश संयोजक एवम् सञ्चालक समिति सदस्य रामबहादुर जिसीले बताउनुभयो ।

You can share this post!

नागरिकता विधेयक पास गरेको विरोधमा मानव अधिकार एलाइन्सको ज्ञापनपत्र

म्याग्दीमा भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक गरिने

Related posts